राष्ट्रिय अभिलेखालयसँगै छैन सुगौली सन्धिको अभिलेख

सूचना दैनिक
बुधबार, असार १७, २०७७

काठमाडौं, १७ असार । राष्ट्रिय अभिलेखालयमा सुगौली सन्धि, महाकाली सन्धि, लिपुलेक र कालापानी सम्झौतालगायत अति महत्वपूर्ण सन्धि र सम्झौताका कागजात छैन । राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेख गरी व्यवस्थित एवं सुरक्षित रुपमा कानुनी जिम्मेवारी पाएको राष्ट्रिय अभिलेखालयमा सरकारको कमजोरीका कारण ती सन्धि सम्झौताका कागजात नभएको हो ।

त्यस्तै भारतले आफ्नो कब्जा गरेको कालापानी र लिपुलेकसम्बन्धी महत्वपूर्ण कागजातसमेत अभिलेखालयमा छैन । नेपालका सन्धि सम्झौतामध्ये सुगौली सन्धिलाई महत्वपूर्ण मानिन्छ । सरकारले उपलब्ध गराएको महत्वपूर्ण सामग्री संरक्षण गर्ने जिम्मेवारी पाएको अभिलेखालयले ती महत्वपूर्ण कागजात उपलब्ध नगराउँदा अहिले गम्भीर समस्या परेको छ ।

लिपुलेक र कालापानीको चर्चा चलेपछि नापी विभाग र परराष्ट्र मन्त्रालयको टोली अभिलेखालयमा पुगेको थियो । दुवै टोलीले कालापानी, लिपुलेक मात्र होइन दुई छिमेकी मुलुक भारत र चीनबीचको सीमासम्बन्धी अधिकांश कागजात फेला पार्न सकेका छैनन् । विभागका अनुसार सरकारले सुगौली सन्धिको कागजात हालसम्म उपलब्ध गराएको छैन । लिपुलेक र कालापानीको पनि जनगणनाबाहेक अन्य कागजात छैन ।

अभिलेखालयका प्रमुख शौभाग्य प्रधानांगले सुगौली सन्धि, महाकाली सन्धि तथा अन्य सन्धि सम्झौताको कागजात हालसम्म नपाएको बताउनुभयो । ‘हामीले कैयौंपटक आग्रह गरिसकेका छांै हालसम्म प्राप्त हुन सकेको छैन’ –उहाँको भनाइ थियो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ