ओलिको राजिनामा मागे पछि जनता सडकमा “हामीलाई नेकपाको धेरै माया छ, नेताहरु मिल्नुहोस्

सूचना दैनिक
बुधबार, असार १७, २०७७

काठमाडौँ, १७ असार – पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका कमीकमजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलोप्रति चि न्ता व्यक्त गर्दै सो पार्टीका कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जालमा गुटफुट र पार्टीभित्रका अवसरवादको विरोध गर्दै आन्तरिक एकताका लागि आह्वान गर्दै भनेका छन्, दुनियाँ हँसाउने गतिविधि तत्काल बन्द गरौँ ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धन भई स्थायित्व र समृद्धिको लक्ष्यसहित साझा चुनावी घोषणापत्रका आधारमा प्राप्त दुई तिहाइ नजीकको जनमतको सम्मान गर्दै २०७५ जेठ ३ मा दुई पार्टीबीच ऐतिहासिक एकता भई नेकपा गठन भएको थियो ।

पार्टीको एकतामा खलल आउन नहुने जनाउँदै नेताकार्यकर्ताले जीवन्त पार्टीमा छलफल र बहस स्वाभाविक भए पनि सतहमै उत्रिएर आरोपप्रत्यारोप हुनाले त्याग, बलि दान र जनमतको अपमान भएको नेकपा निकट जिल्ला तथा जनसङ्गठनका नेतृत्वकर्ताहरुको भनाइ छ । मन्त्रिपरिषद् र स्थायी कमिटीमै रहेका घनश्याम भुसाल, योगेशकुमार भट्टराईलगायत नेताले पनि सार्वजनिक आह्वान गरी संवाद, एकता र विश्वास सिर्जना गर्न आग्रह गरेका छन् ।

नेकपाको मङ्गलबारको स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूची प्रभावित भई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भनी दिएको अभिव्यक्तिका विषयमा गर्मागर्मी छलफल भएको थियो । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भनी अभिव्यक्ति दिनुभएका विषयमा छलफल हुँदा प्रधानमन्त्री ओलीको राजीनामाको विषय पनि उठेको थियो ।