नेकपाको स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ।

सूचना दैनिक
बुधबार, असार १७, २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल लगायत १९ जनाले मंगलबार र बुधबार समिति बैठकमा बोल्दै प्रधानमन्त्रीको राजीनामा माग गरिसकेका छन्। प्रचण्ड-नेपाल निकटका थप सदस्यले पनि प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी गरेका छन्।

नेकपाको ४५ सदस्यीय स्थायी समितिमा प्रधानमन्त्री चरम अल्पमतमा छन्। स्थायी समितिमा पूर्व माओवादीका १९ जना र पूर्व एमाले पक्षका २६ जना सदस्य छन्। २६ जनामध्ये १३ जना माधव नेपाल पक्षका छन्।

यसरी प्रचण्ड-नेपाल पक्षले सजिलै स्थायी समितिबाट प्रधानमन्त्रीलाई राजीनामा दिने राजनीतिक निर्णय पास गराउन सक्छन्। त्यो निर्णय केन्द्रीय समितिबाट पनि पास हुनुपर्छ। केन्द्रीय समितिमा पनि प्रचण्ड-नेपाल पक्षको बहुमत छ।

नेकपाको निर्णय पास हुनेबित्तिकै पदबाट राजीनामा दिन प्रधानमन्त्री ओली बाध्य हुन्छन्?

उनीमाथि राजीनामाको नैतिक दबाब पक्कै पर्छ। तर, राजीनामा दिन उनी संवैधानिक रूपमा बाध्य छैनन्। त्यसपछि प्रधानमन्त्रीलाई संवैधानिक र कानुनी रूपमा राजीनामा दिन बाध्य पार्ने नेकपासँग दुईवटा विकल्प रहन्छन्।

पहिलो, संसदीय दलको नेताबाट हटाएर।

दोस्रो, पार्टीले प्रधानमन्त्रीलाई कारबाही गरेर।

यी दुवै बाटा चुनौतीरहित भने छैनन्। संसदीय दलको नेताबाट प्रधानमन्त्री हटाउने बाटो कति चुनौतीपूर्ण छ हेरौं।