प्रधानमन्त्री ओलि राजीनामा दिने मुडमा छैनन ,बरु यसरी अगाडि बड्ने रणनीति बनाउदै !

सूचना दैनिक
बुधबार, असार १७, २०७७

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली परामर्शमा व्यस्त भएका छन् । पार्टीभित्रै राजीनामा माग भएपछि तनावमा रहेका प्रधानमन्त्री बुधबार बिहानैदेखि आफ्ना निटकका मन्त्री र सांसदहरुसँग छलफलमा जुटेका हुन् ।मंगलबार नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना मात्र भएन, उनको राजीनामा नै मागिएको थियो ।नेकपाका अर्का पुष्पकलम दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अढानमा पुगेका छन् ।

यसअघि उनीहरुले प्रधानमन्त्री वा अध्यक्ष पदमध्ये एक छाड्न दवाव दिँदै आएपनि मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटि बैठकमा चर्काचर्की सँगै प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपर्ने बताएका थिए ।त्यसपछि तनावमा परेको प्रधानमन्त्री ओली बुधबार बिहानबाटै सक्रिय भएका छन् । उनले सरकारका मन्त्रीहरु र आफू निकटका स्थायी कमिटी सदस्यहरुलाई परामर्शका लागि बुधबार बालुवाटार बोलाएका छन् । सरकारको भूमिका, पार्टीभित्रको कलह र सम्भावित कदमबारे प्रधानमन्त्री ओलीले उनीहरुसँग परामर्श गरेको बताइएको छ ।

बालुवाटार परामर्शमा स्थायी समितिमा रहेका मुख्यमन्त्रीहरु शंकर पोखरेल र पृथ्वी गुरुङ, संसदीय दलका उपनेता सुवास नेम्वाङ, मन्त्रीहरु रामबहादुर थापा बादल, योगेश भट्टराई, घनश्याम भुसाललगायत रहेका छन् ।पार्टीभित्रैबाट आफू घेराबन्दीमा परेको बताउँदै आएका ओलीको सम्भावित कदम के होला भनेर अनेक अनुमान र आशंका गरिएको छ । स्थायी समितिमा मंगलबार चर्को आलोचना र दबाब खेपेका ओलीले मंगलबार अपरान्ह मुख्यसचिव लोकदर्शन रेग्मीलाई राष्ट्रपतिकहाँ पठाएका थिए ।

त्यपछि रेग्मीलाई बालुवाटार बोलाएर ओलीले छलफल गरेका थिए । मंगलबार बैठक सुरू हुनुअघि पनि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शितल निवास पुगेका थिए ।स्रोतका अनुसार प्रधानमन्त्री राजीनामा दिने मुडमा छैनन् । बरु पेलेर अघि बढ्ने रणनीति तयारीमा छन् । जस्तोसुकै परिस्थिति आएपनि सामना गर्ने मनस्थितिमा ओली रहेको उनी निकट एक नेताको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्री ओली राजीनामा दिने मुडमा छैनन् । सकेसम्म मिलेर अघि बढ्ने मुडमा उहाँ हुनुहुन्छ ।स्रोतका अनुसार प्रधानमन्त्री ओली आफ्ना निकटका मन्त्री र स्थायी समिति सदस्यहरुसँग संसद अधिवेशन अन्त्य गर्ने, संकटकाल लगाउने, मन्त्रिपरिषद् फेरबदल गरेर आन्तरिक झगडा मिलाउनेलगायत दल विभाजनलाई खुकुलो पार्ने अध्यादेशलाई ब्यूँताउनेजस्ता विकल्पबारे छलफल गरिरहेका छन् ।

पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुराएमा पार्टी विभाजन गर्न सकिने खुकुलो व्यवस्थासहितको अध्यादेश गत वैशाख ८ गते राष्ट्रपतिबाट जारी भएपनि चौतर्फी आलोचना भएपछि फिर्ता गरिएको थियो ।यता बालुवाटारमा प्रधानमन्त्री ओली परामर्शमा व्यस्त हुँदाअर्का आध्यक्ष प्रचण्ड र नेता नेपाल पनि आन्तरिक छलफलमा व्यस्त रहेका छन् ।प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनले आइतबार गरेको कार्यक्रममा भारतले आफूलाई हटाउन होटल र दूतावासमा चलखेल गरिरहेको अभिव्यक्ति दिएका थिए । बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार ओलीको अभिव्यक्तिप्रति नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।