कालापानी क्षेत्रमा एकैदिन ३ ठाउँमा सशस्त्रका सुरक्षा चौकी स्थापना

काठमाडौँ: दार्चुलास्थित नेपाल—भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको तीनवटा सीमा सुरक्षा चाैकी (बीओपी) स्थापना भएका छन् ।

बिहीबार सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख वैद्यनाथ बाहिनीपति डिआइजी हरिशंकर बुढाथोकीले लेकम गाउँपालिका—३ लाली, मालिकार्जुन गाउँपालिका—७ जोलजिबी र व्यास गाउँपालिका—२ दुम्लिङमा स्थापना भएका बीओपीको गरेको दार्चुलाका डिएसपी डम्बरबहादुर विष्टले जानकारी दिए ।

डिआइजी बुढाथोकी जोलजिबी र लालीमा बीओपी स्थलमा पुगी चौकी स्थापना गरेका हुन् भने दुम्लिङमा भिडियो कन्फ्रेन्समार्फत बीओपी उद्घाटन गरिएको हो । तीन वटै बीओपीमा २०/२० जना सुरक्षाकर्मी खटाइएका छन् ।

तत्काल बीओपीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षकले गरेका छन् । केही समयपछि सशस्त्र प्रहरी निरीक्षकले नै बीओपीको नेतृत्व गर्ने डिएसपी विष्टले बताए । भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र नजिकको व्यासको छाङरुमा गत वैशाख ३१ गते बीओपी स्थापना गरिएको थियो ।

दोस्रो चरणमा अतिक्रमित भूमि कालापानी नजिकको कौवाक्षेत्र, महाकाली नगरपालिका—९ दत्तु, व्यास गाउँपालिका—३ सुनसेरा र व्यास गाउँपालिका—१ चीन सीमा नजिकको तिंकर लगायत विभिन्न स्थानमा बीओपी थप्ने सरकारको तयारी छ ।

प्रकाशित मिति July 2, 2020

प्रतिकृया दिनुहोस