बैठकमा प्रधानमन्त्री नआए पार्टी सधैं पर्खेर बस्दैन- झलनाथ खनाल

सूचना दैनिक
शुक्रबार, असार १९, २०७७

नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउन लागेको चर्चा चलेको बताएका छन्।

बिहीबार सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री अध्यादेशको तयारीमा रहेको सुन्नमा आएको समेत बताए।

‘अध्यादेश ल्याउने अरे, पार्टी फुटाउन पाउने गरी सहज बनाउने अरे, यस्तो-त्यस्तो ल्याउने रे भन्ने आइराछ,’ खनालले भने।

सरकारले बिहीबार अस्वभाविक रूपमा संसद अधिवेशन अन्त्य गरेको भन्दै नेकपा स्थायी समितिमा विरोध भएको थियो।

अधिवेशन अन्त्य गरेर दल विभाजन खुकुलो बनाउनेगरी अध्यादेश ल्याउन लागिएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए।

अध्यादेश आएमा परामर्शका लागि केही समय रोक्न उनले राष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए। स्रोतका अनुसार राष्ट्रपति भण्डारीले ‘पार्टीभित्र छलफल गर्न’ भनेर जवाफ दिएकी थिइन्।

नेता खनालले पार्टीले गरेको निर्णयअनुसार सबै अगाडि बढ्नुपर्ने पनि बताए।

‘विवाद समाधानका लागि एक आपसमा छलफल हुँदैछ, अन्तर्क्रिया हुँदैछ।

पार्टीको निर्णय नमानेर धरै छैन,’ उनले भने, ‘उहाँ (प्रधानमन्त्री)लाई हामी पर्खँदै जान्छौं। तर प्रधानमन्त्री ओली नआए पार्टी सधैं पर्खेर बस्दैन। केपी ओली नआएर बैठक नहुने कुरा पनि हुन्छ?’

बिहीबार बैठकमा प्रधानमन्त्री ओली नआएको भन्दै समेत स्थायी समिति सदस्यले विरोध गरेका छन्।