बैतडीकी भागरथी घटना: अपराधी प्रविधिसँग जानकार !

बैतडीको दोगडाकेदखार गाउँपालिका- ७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको बल्लात्कार पछि हत्या भएको शुक्रबार ९ दिन पूरा भयो । माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको हत्या भएको थियो ।२१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् ।

माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।भागरथी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते उनकै सहपाठीहरुले घर फर्कने क्रममा भागर थीको शव देखेपछि अभिभावकलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले माघ २२ गते रातभर शव कुरेर अपराध अनुसन्धान टोली आएपछि मात्रै भागरथीको शव उठाइएको थियो ।

घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), सोका चिकित्सक आदि सबै टोली पुगेपछि मात्रै घटनास्थलबाट सम्पूर्ण सबुत तथा प्रमाणहरु संकलन गरी पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल बैतडी पठाइएको थियो । प’ष्टमार्टम रिपोर्टमा भागरथीको बल्लात्कार पछि हत्या भएको पुष्टि भएको छ । पीडित परिवारले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन् । जिल्लाभर भागरथीको हत्यारा पत्ता लगाउन आन्दोलन भइरहेका छन् । यता घटनास्थल लवलेक जंगलको नजिकै रहेको खोचलेक बजारमा १ सय भन्दा बढी प्रहरी खटिएका छन् । सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदी आफै माघ २३ गतेदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन् । तर पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

घटनामा स्थानीय व्यक्तिकै संलग्नताको आशंका

किशोरीको घर वरिपरी भारतीय सिमकार्डले समेत काम गर्ने भएपनि सीमापारीबाट आएर अपराध गर्न सक्ने सम्भावना ज्यादै न्यून छ । किनभने घटनास्थलबाट यदि हिँडेरै सिमा पार गर्ने हो भने झुलाघाट र पिथौरागढ पुग्न झण्डै ७ घण्टा लाग्छ । त्यसकारण सिमापारीबाट अपराध गर्ने सम्भावना ज्यादै न्यून रहेको प्रहरीको अनुमान छ ।

घटनास्थलको भूगोल र प्रकृति हेर्दा घटना स्थानीय व्यक्तिबाटै भएको आशंका आम सर्वसाधरण र प्रहरीको छ । जुन स्थानमा भागरथीको शव भेटिएको छ, सो स्थान भागरथी पढ्ने स्थानीय सनातम धर्म मावि, खोचलेकबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको छ । बजारबाट केही उकालो बाटो हुँदै भर्खर खनिएको कच्ची सडक हुँदै घटनास्थल पुग्न सकिन्छ । पातलो तर अग्ला अग्ला सल्लाका रुखमुनि बनमाराका स-साना बुट्यानहरु घटनास्थलको वरिपरी छ ।

केही खोल्सो परेको स्थानमा भागरथीको श’व भेटिएकाले झण्डै १ दशमलब ५ मिटर उचाइका बनमाराका बुट्यानहरु घटनास्थलमा छ । र, मुख्य सडकबाट करिब ७० मिटरको दुरीमा भागरथीको शव शरीरमा लगाएको एउटा सर्टमात्रै रहेर अन्य सबै कपडाहरु खोलिएको अवस्थामा फेला परेको थियो ।भागरथीको भित्री बस्त्रमा र”गत समेत लतपतिएको अवस्थामा उनलाई फेला पारिएको थियो ।घटनास्थलको प्रकृति हेर्दा भागरथीलाई कसैले ज’बरजस्ती गर्न खोजेपछि ओरालो बाटो भाग्न खोजेको देखिन्छ । किनभने उनको कपालको केही अंश बाटोबाट करिब १५ मिटरकै दुरीमा भेटिएको थियो । कपालसँगै उनले प्रयोग गर्दै गरेको कपाल बाँध्ने रबर ब्याण्ड पनि फेला परेको थियो । यसको सोझो अर्थ भागरथी सडकबाट ओरालो बाटो भाग्ने प्रयत्न गरेका थिए तर उनी सफल भइनन् । अपराधीले उनलाई त्यहाँबाट घिसार्दै करिब ७० मिटर तल पुराएर बल्लात्कारपछि हत्या गरेको छ ।

घटनास्थल हेर्दा कुनै नयाँ अपराधी आएर घटना गराउन सक्ने सम्भावना ज्यादै न्युन छ । त्यसकारण घटनामा संलग्न अपराधी पहिलेदेखि नै बाटो ढुकेर बसेको हुनसक्ने प्रहरीको दाबी छ । जब भागरथीलाई अपराधीले एक्लै देख्यो, त्यसपछि भागरथीसँगै केही समय हिँडेर एकान्त स्थान पुगेपछि आक्रमण गरेको प्रहरीको अनुमान छ । त्यसकारण घटनामा संलग्न अपराधी भागरथीलाई नजिकबाटै चिन्ने व्यक्ति रहेको हुन सक्ने अनुमान प्रहरीको छ ।

अपराधीसँग भागरथीको कुराकानीको सम्भावना न्युन

अपराधीलाई भागरथीले चिनेकै हुन सक्ने निस्कर्षमा प्रहरी पुगेको भएपनि अपराधीसँग भागरथीको कुराकानी भइरहेको सम्भावना भने ज्यादै न्युन छ । किनभने भागरथीको कल डिटेल्स रिपोर्ट (सिडिआर)मा भागरथी र अपराधीबीच पछिल्लो समय कुराकानी भएको देखिएको छैन । भागरथीले प्रयोग गर्ने एनसेल र एनटीसीको मोबाइलमा घटना भएको दिन कोही पनि व्यक्तिसँग कुराकानी भएको पाइएको छैन । यद्यपि भागरथीले प्रयोग गर्ने भारतीय सिम कार्डको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अपराधीले गर्यो चलाखी

अपराधीले भागरथीको बल्लात्कारपछि हत्या गर्यो । त्यसपछि भागरथीको मोबाइलको सम्पूर्ण डाटा डिलिट गरेको पाइएको छ । किनभने भागरथीको सामान्य किप्याड भएको फोन घटनास्थलमै भेटिएको थियो । तर उक्त फोनको ब्याट्री झिकेर फ्याँकिएको छ । त्यतिमात्रै होइन, अपराधीले भागरथीको मोबाइलको सम्पूर्ण कल लग डिलिट गरिएको अवस्थामा फेला परेको थियो । अपराधीको यो हर्कत हेर्दा अपराधी प्रविधिसँग जानकार र चलाख रहेको बुझिन्छ । यो सँगै कल लग सबै डिलिट गर्नुको कारण भागरथी र अपराधीबीच कुनै न कुनै समयमा मोबाइलमा कुराकानी वा म्यासेज आदनप्रदान थियो कि भन्ने आशंका पनि गरिएको छ । अपहरण गरी साँझ हत्याको आशंका

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार घटना माघ २१ गते अपरान्ह २ देखि ३ बजेको समयमै भएको थियो । किनभने उक्त समयमै भागरथीको मोबाइलको स्वीच अफ भएको थियो । त्यसकारण अपराधीले भागरथीको बल्लात्कार पछि हत्या गरेलगत्तै मोबाइलको ब्याट्री निकालेर फालिदिएको प्रहरीको दाबी छ ।तर घटनास्थल हेर्दा पातलो सल्लाको रुख भएको जंगलमा बनमाराको झाडी पारेर दिउँसै बल्लात्कार र हत्या गर्न सक्ने सम्भावना ज्यादै न्युन छ । त्यसकारण कतै कुनै व्यक्तिले फकाएर वा अपहरण गरेर दिनभर कतै राखेको र साँझ वा रातिको समयमा घर पुराइदिन्छु भन्दै बाटोमै पुनः बलात्कार गरी प्रमाण खुल्ने डरले हत्या त गरिएको होइन आशंका पनि गरिएको छ ।

पीडित भागरथीका काका शिवराज भट्ट पनि अपराधीले अपहरण गरी दिनभर कतै राखेर बल्लात्कार गरेको र साँझ घर पुर्‍याइदिन्छु भन्दै पुनः बल्लात्कार गरी हत्या गरेको हुनसक्ने शंका गर्छन् । शिवराजका अनुसार घटनास्थल मानिसहरुको आवतजावत भइरहने स्थान भएकाले अपरान्हकै समयमा त्यहाँ दिउँसै बल्लात्कार र हत्या गर्ने सम्भावना कम नै देखिन्छ ।

अपराधमा कति जना संलग्न थिए भन्ने अझै खुलेन

घटनाका सम्बन्धमा नजिकबाट अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु घटनामा एकै जनाको संलग्नता हो अथवा दुई वा दुईभन्दा बढी व्यक्तिको संलग्नता छ भनेर अझै छुट्याउन नसकिएको बताउँछन् । हाल फरेन्सिक रिपोर्टको पर्खाइमा रहेको प्रहरी त्यसपछि मात्रै घटनामा एकै व्यक्तिको संलग्नता वा धेरै थिए भन्ने यकिन हुने बताउँछन् । प्रहरी अनुसन्धानको महत्त्वपूर्ण कडीका रुपमा ब्यग्र प्रतीक्षा गरिएको भेजाइनल स्वाबको रिपोर्ट हेरेपछि मात्रै घटनामा एकै व्यक्ति वा अन्यको पनि संलग्नता थियो भन्ने यकिन हुने प्रहरीको भनाइ छ ।

करियर दाउमा राखेर डिआईजी आफै फिल्डमा

सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी घटनाको पर्सीपल्टदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन् । प्रदेश प्रहरी प्रमुख आँफै यति लामो समय फिल्डमै बसेर अनुसन्धान गरिरहेको सायद यो पहिलो घटना होला । सुरुमै एसपीलाई घटनास्थलमा पठाएका डिआइजी सुवेदी भोलिपल्ट आँफै फिल्डमा उत्रिएका छन् । सामान्य अवस्थामा डिएसपी वा एसपीसम्मलाई यस्ता घटनाको अनुसन्धानमा पठाउने गरिएकामा यसपटक डिआइजी आफै फिल्डमा उत्रनुलाई प्रहरीको शाखका रुपमा समेत हेरिएको छ ।

किनभने अब यसको जस वा अपजस डिआइजी आफैले लिनुपर्ने हुन्छ । र, कञ्चनपुरको निर्मला पन्त ह’त्याका’ण्ड र अनुसन्धानको पुनरावृत्ति नहोस् भनेर भने डिआइजी आफै फिल्डमा खटिएका छन् र प्रमाणका सा–साना अंशलाई पनि यतिबेला सुक्ष्म अध्ययन गरिरहेको छ प्रहरीले ।

अनुसन्धानको घेरा साँघुरियो, निर्मला प्रकरण दोहोरिँदैन : प्रहरी

माघ २९ गते बिहीबार कुराकानी गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले अनुसन्धानको घेरा साँघुरिएको र आफूहरु अपराधीको नजिकै पुगिसकेको बताएका छन् । प्रहरीले ज्यादै सुक्ष्म ढंगले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । घटनास्थल सुरक्षादेखि प्रमाण संकलनमा कहीँ कुनै त्रुटी हुन नदिई सुरक्षा दिएर डाक्टर, वकिल, सोको टिम सबै राखेर स्थानीयकै रोहवरमा घटनास्थल प्रकृति मुचुल्का तयार पारिएको उनको भनाइ छ ।

उनका अनुसार अनुसन्धानको घेरा सुरुमा धेरै ठूलो भएकामा अहिले सानो घेरामा आइपुगेको बताएका छन् । सुवेदीका अनुसार सबुत प्रमाणसहित दोषीलाई चाँडो भन्दा चाँडो पक्राउ गरी सार्वजनिक गरिनेछ । कञ्चनपुर घटनासँगै दाँजेर हेरिएको यो घटनालाई कञ्चनपुर प्रकरण दोहोरिन नदिने सुवेदीको जिकिर छ । मानिसहरुले कञ्चनपुर घटनालाई दाँजेर हेर्नु र उक्त घटनाको अपराधीबारे अहिलेसम्म कुनै प्रमाण नजुट्नुले त्यही घटनासँग दाँजेर हेरिरहेको बारे डिआइजी सुवेदी जानकार छन् । त्यसकारण पनि उक्त घटना दोहोरिन नदिने गरी त्यस घटनामा सबै पक्षबाट भएको कमजोरीलाई पनि बुझेर त्यस्तो कुनै कमजोरी नदोहोरिएको सुवेदी बताउँछन् ।

सुरुका दिनमा अपराधी वा शंकित व्यक्तिबारे कुनै सूचना वा जानकारी नआएको भएपनि अहिले पनि स्थानीयले शंकित व्यक्तिहरु बारे जानकारी दिइरहेको डिआइजी सुवेदीले बताए । अपराध समाजमै घट्छन् र अपराधी पनि समाजमै हुन्छन् भन्दै अपराध र अपराधीबारे जानकारी आउन थालेको भन्दै अब चाँडै नै अपराधी कानुनी कठघरामा आउने उनले दाबी गरे ।

यद्यपि घटनाको सुरुवातमा स्थानीयले कुनै सूचना नदिएको र अनुसन्धान अधिकारीसँग कुराकानी गर्नै नखोजेको बुझिएको थियो । स्थानीय स्तरमा डर, त्रास र पहिलेका केही घटनाका कारण पनि स्थानीयहरु अपराधीका बारेमा केही बोल्ने नगरेको पाइएको छ । किनभने करिब १० वर्ष पहिले भएका एउटा हत्याकाण्ड लुकाउन स्थानीय व्यक्तिहरुले डर, त्रास र धम्की दिएको अहिलेको अनुसन्धानपछि खुलेको छ । त्यसकारण डरले पनि उनीहरुले केही बोलेका थिएनन् । तर पछिल्लो समय भने स्थानीयले सूचना दिन थालेको सुवेदीको भनाइ छ ।

झण्डै २ दर्जनमाथि प्रारम्भिक सोधपुछ

स्थानीयका माग शंकित व्यक्तिहरुलाई तत्कालै पक्रिएर अनुसन्धान सुरु गरोस् भन्ने छ । तर प्रहरी भने ठोस् आधार र शंका नभएसम्म कुनै पनि व्यक्तिलाई पक्रने पक्षमा छैन । पक्राउ गरिएको व्यक्ति निर्दोष पाइयो भने त्यसले भीड भड्कने खतरा पनि उत्तिकै छ, जसका कारण अपराधीले खेल्ने मौका पाउँछन् ।

यद्यपि प्रहरीले झण्डै दुई दर्जन व्यक्तिहरुमाथि प्रारम्भिक सोधपुछ गरिरहेको र अनुसन्धानका लागि गर्नुपर्ने काम गरिरहेको सुवेदीले बताएका छन् । अनुसन्धान चमत्कार नभएको भन्दै चाँडोभन्दा चाँडो अनुसन्धान टुङ्ग्याउने र निष्कर्ष निकाल्ने गरी काम गरिरहेको सुवेदीको भनाइ छ । प्रहरी घटना भएलगत्तै दबावमा आएको र धेरै मिहेनत गरेर काम गरिरहेको भन्दै अपराधी स्थानीय व्यक्ति नै हुनसक्ने आधार बलियो भएको भन्दै आफूहरु अपराधीको धेरै नजिक पुगिसकेको सुवेदीले बताए ।

प्रकाशित मिति February 14, 2021

प्रतिकृया दिनुहोस