सफलताको कथा: बिहान कलेज पढाउँछु, दिउँसो बाख्रा हेर्छु

दिउँसो चकमन्न घाम लागेको छ। एक दर्जन जति पाठापाठी आँगनमा बुकुर्सी मा-र्दै खेलिरहेका छन्। उनीहरूको बुकुर्सीमा २३ वर्षीय दिपेन्द्र वलीको खुसी नाचिरहेको छ।

अविवाहित दिपेन्द्र ती पाठापाठीलाई आफ्नै सन्तान जसरी सुमसुम्याउँछन्।

बाँकेको सिक्टास्थित एउटा बाख्रा फर्मले २४ लाखका बाख्रा अर्डर गरिसकेको छ। केही दिनअघि मात्रै जन्मिएका बोयर जातका यी पाठापाठी हुर्किएपछि दिपेन्द्रले त्यहीँ पठाउने छन्।दिपेन्द्रका अनुसार अझैं ६० वटा जति बाख्रा गाभिना छन्। उनको खोरमा अहिले माउ, पाठापाठी र दुइटा बोकासहित एक सय दस बाख्रा छन्। ब्याडका लागि अष्ट्रेलियन र अफ्रिकन बोयर जातका बोकाहरू पालेका छन्।

ती बोकामध्ये अफ्रिकन ब्रिडलाई तीन लाख १५ हजार र अष्ट्रेलियनलाई तीन लाख ३० हजारमा किनेर ल्याएको दिपेन्द्रले जानकारी दिए। माउ बाख्रा ९० वटा छन्। ती मध्य अधिकांश गाभिना छन्।‘१५ वटा जति बाख्राले पाठापाठी जन्माइसके,’ दिपेन्द्रले भने, ‘अझै ६० वटा जति बाख्रा ब्याउने छन्।’हामी फर्ममा पुग्दा ठूलो डेक्चीमा कुँडो पाकिरहेको थियो। बिहान, दिउँसो र बेलुका गरि तीन टाइम दाना पकाएर खुवाउने गरिएको दिपेन्द्रले बताए।

त्यसरी दाना पकाउँदा भेली (मिठाइ), मकैको पिठो, भटमासको पिठो, नुनको मात्रा पनि मिसाएर पकाइन्छ।बाख्रालाई आवश्यक दाना उनीहरुले फर्ममै तयार पार्छन।बाख्राको हेरचाह गर्न उनले तीन जना सहयोगी राखेका छन्। उनीहरूलाई मासिक ३५ हजार तलब दिने गरेको दिपेन्द्रले बताए।

‘रूकुमको एक जना व्यक्तिको परिवारसहित यही बस्नु हुन्छ, उहाँहरूले मासिक २५ हजार पाउनु हुन्छ,’ उनले भने ‘अर्का एक स्थानीय व्यक्ति पनि हुनुहुन्छ र उहाँ मुख्यगरी घाँसको हेरचाह तथा व्यवस्थापनको काम गर्नुहुन्छ। उहाँलाई मासिक १० हजार तलब दिन्छौं।’

बाख्रा फर्म तीन जना मिलेर सञ्चालन गरिरहेका छन्। दिपेन्द्र, खगेन्द्र राना र लोकेन्द्र राना। उनीहरूले गत जेठमा बाख्रा खोरमा राखेका हुन्।

दिपेन्द्रको पुर्ख्यौली घर रोल्पाको गंगादेव गाउँपालिका हो। २०७१ सालमा दिपेन्द्रको परिवार दाङ तुलसीपुर ४ बनहरीमा बसाइ सरेर आएको हो। रोल्पामा उनले सानैदेखि देखेकै पशुपालन थियो। सानैदेखि वनपाखामा घरका बाख्रा चराउँदै दिपेन्द्र हुर्किएका थिए। त्यसैले कृषि क्षेत्रमा केही गर्ने हुटहुटीले उनलाई लखेटिरह्यो।

त्यही हुटहुटी पछ्याउँदै जग्गा खोजी गर्न थाले। खोज्दै जाँदा फचकलुवामा उनको भेट आफूजस्तै सोच भएका आफ्नै उमेरका युवा खगेन्द्रसँग भयो।

अहिले बाख्रा फर्म रहेको एक बिगाहा जग्गा खगेन्द्रकै हो। दिपेन्द्र, खगेन्द्र र उनका साथी लोकेन्द्र राना मिलेर २५ वर्षका लागि यो जग्गा भाडामा लिएका छन्। वार्षिक भाडा ५० हजार छ। एक बिगाहा क्षेत्रफलमध्ये ८ कठ्ठामा बाख्राका लागि आधुनिक शैलीमा खोर बनाएका छन्।

बाख्रा माथिल्लो तलामा बस्छन्। उनीहरूको मलमुत्र सबै तल्लो तलामा झर्छ। त्यो मलमुत्र उनीहरू घाँस खेतीमा प्रयोग गर्छन्। बचेको तरकारी खेती गर्ने कृषकलाई बेच्छन्। त्यसबाट पनि उनीहरूले राम्रै फाइदा लिइरहेका छन्। रोल्पामा सुन्तला खेती गर्नेहरू पनि उनीहरूको फर्ममा बाख्राको मल खरिद गर्न आउँछन्।

त्यसबाहेक मानिसका लागिसमेत भौतिक संरचना निर्माण गरिएको छ।

झन्डै ५ कठ्ठा जति क्षेत्रफलमा सुब्बा सेटेरिया, सेटरिया, सुपर्नापियर सियो ५ जातको घाँस रोपेका छन्। दिपेन्द्रका अनुसार अनुसार ती घाँस जिल्लामा भित्र्याउने उनीहरू नै पहिलो हुन्। ती घाँस सर्लाहीबाट ल्याएको दिपेन्द्रले बताए। घाँस बेचेर उनीहरूले यो वर्ष ४ लाख आम्दानी गरिसकेका छन्। बाँके, रोल्पा र दाङका यस्तै बाख्रा तथा पशुपालक किसानले बिउको रूपमा त्यो घाँस किनेर लिएका हुन्। घाँसको एक फुट जतिको डाँठ पनि पाँच रुपैयाँ प्रति गोटा बिक्री भएको दिपेन्द्रले बताए।

त्योबाहेक केही दक्षिणमा उनीहरूले थप पाँच बिगाहा जग्गा पनि छुट्टै भाडामा लिएका छन्। जसको वार्षिक भाडा डेढ लाख छ।

पाँच बिगाहा जग्गामा भने उनीहरूले बाख्राका लागि सिजन अनुसारका घाँस लगाउँछन्। हाल डाले घाँस रोपेका छन्। उनीहरुले चरी, भटमास, मकै घाँससमेत गरी ५-६ प्रजातिका घाँस रोप्छन्। त्यो ठाउँमा बाह्रैमास सिँचाइको सुविधा छ। पम्पिङ सेटबाट उनीहरूले सुख्खा मौसममा आवश्यकताअनुसार सिँचाइ गर्छन्।

छिटै भारतबाट झन्डै एक सय बाख्रा ल्याउने उनीहरूको तयारी छ। ५० वटा बबरी र थप ५० वटा सिरोही जातको बाख्रा ल्याउने दिपेन्द्रले सुनाए।
उनीहरूसँग ७ सय जति बाख्रा पाल्न मिल्ने खोर तयारी अवस्थामा छ।

कुखुरा पाल्ने भनेर वरिपरि तारबार, जाली सबै तयारी अवस्थामा छ। ४-५ सय लोकल कुखरा र जर्सी गाई पनि पाल्ने उनीहरूको योजना छ। तीन जनाको गरेर हालसम्म फर्ममा सवा करोड जति लगानी पुगि सकेको दिपेन्द्रले बताए।

दिपेन्द्रका अनुसार बाख्रा पाल्दा कुखुरा पालेजस्तै तत्काल मुनाफा हुँदैन। कम्तिमा दुई-चार वर्ष धैर्य गर्नुपर्छ। बाख्रा हुर्कँदा, त्यसले पाठा जन्माउँदासम्म धैर्यता नहुने हो भने पशुपालन नगर्दा हुने दिपेन्द्रले बताए।

त्यसैले उनीहरूले हालसम्म पाठापाठी बेचेर फाट्टफुट्ट आम्दानी गरे पनि अझैं खसी-बोका बिक्री नगरेको बताए। प्राविधिक शिक्षा अध्ययनका लागि दिपेन्द्र दाङ झरेका थिए। उनले नेपालगञ्ज र दाङमा इलेक्ट्रिकल इन्जिनियरिङ विषय पढे। हाल उनले पार्टनरसिपमा तुलसीपुर बजारमा तुलसीपुर इञ्जिनियरिङ कलेज पनि सञ्चालन गरिरहेका छन्।

‘म बिहान विद्यार्थी पढाउन जान्छु,’ दिपेन्द्रले भने, ‘दिउँसो यहाँ पनि आएर अरूसँगै मिलेर बाख्राको हेरचाह गर्छु।’दिपेन्द्रले कलेजमा विद्यार्थी पढाउनुभन्दा बढी सन्तुष्टि आफूलाई बाख्रा फर्ममा आउँदा मिल्ने गरेको बताए। उनले भविष्यमा पूर्ण रूपमा कृषिमै समर्पित हुने योजना बनाएका छन्।

अहिलेको सूचना र प्रविधिको जमानामा व्यवस्थापन गर्न सके एउटै व्यक्तिले चार-पाँच वटासम्म व्यवसाय गर्न सकिन्छ भन्ने विश्वास दिपेन्द्रलाई छ। तीन जना मिलेर २०७५ सालमा कम्पनी रजिष्टारको कार्यालयमा फर्म दर्ता गरेको भए पनि आफूहरूले हतार गरेर बाख्रा खोरमा नहालेको दिपेन्द्रले बताए।

बाख्रा हाल्नुभन्दा पहिले उनीहरूले घाँस व्यवस्थापन गरे। घाँस व्यवस्थापन गर्न एक वर्ष लाग्यो। त्यसपछि उनीहरूले भौतिक संरचना निर्माण गरे। बाख्राका लागि पक्की र आधुनिक खोर बनाए। खोर बनाउँदा पनि कृषि प्राविधिकलाई देखाएरमात्रै बनाएको दिपेन्द्रले बताए।

खोरको हाइट १७ फिटमध्ये ५ फिटमा फेरि काठका फ्लेक राखेर बाख्राको खोर बनाइएको उनले बताए। बाख्रा त्यही फ्लेकमाथि बस्छन् भने मलमुत्र तल झर्छ। बाख्रालाई मलमुत्रबाट चिसो हुँदैन। तल झरेको मलमुत्र पनि सबै एकै ठाउँमा जम्मा हुने गर्छ। त्यसरी जम्मा हुने मलमुत्र खोज्दै तरकारी उत्पादक किसान उनी कहाँ आइरहन्छन्।

घाँस काट्नको लागि चाप कटर छ। दाना पिस्नका लागि मिल पनि फर्ममै छ। उनीहरू भटमास, मकैजस्ता खाद्यान्न रोल्पा, सल्यानबाट खरिद गरी बाख्राको लागि आफैं दाना पनि उत्पादन गर्दै आएका छन्। किन बाख्रा पालन रोज्नुभयो? भन्ने प्रश्नमा दिपेन्द्रले आफ्नो आर्थिक अवस्था मजबुद् बनाउन र युवालाई सम्भावना देखाउन बाख्रा पालन रोजेको बताए।

‘हाम्रो समाजका अलिकति पढेलेखेको र टाँठोबाठो युवा विदेश नै जानु पर्छ भन्ने मानसिकता छ,’ दिपेन्द्रले भने, ‘त्यो मानसिकता र चिन्तन चिर्न मैले बाख्रा पालन व्यवसाय सुरू गरेको हुँ।’युवाले चाहेको खण्डमा यहीँ पनि केही गर्न सकिन्छ भनेर देखाउन आफूले पशुपालनमा हात हालेको उनले बताए।

‘आदर्शका गफ चुट्ने तर आफूले केही नगर्ने हो भने देश कसरी बन्छ,’ उनले भने, ‘कुनै पनि असल कामको सुरूवात युवाहरूले आफैंबाट गर्नुपर्छ भन्ने सोच हुनुपर्छ।’ आफैंले घरमा खेती नगर्ने र वर्षमा एक दिन धान दिवसको दिनमा मात्रै कृषि मन्त्रीले पाँच मिनेट धान रोपेको नाटक गर्न खेतमा पस्ने प्रवृत्तिको अन्त्य नुहँदासम्म देश नबन्ने उनको बुझाइ छ।‘बोलीअनुसारको व्यवहार हुनु पर्‍यो,’ उनले भने, ‘आफूले केही नगर्ने र आदर्श छाँटेर हिँड्नेहरूले नै देश बिगारिरहेका छन्।’

युवाहरूले विदेशमात्रै ताक्नुभन्दा गरे स्वदेशमै हुँदो रहेछ भनेर विश्वास जागृत गर्न राज्यले पनि सहयोगी भूमिका खेल्न जरूरी रहेको उनको बुझाइ छ। केही गर्ने सोच र विचार भएका युवालाई राज्यले बिना धितो ऋण दिए कृषि पेशामा युवाको थप आकर्षण बढेर जाने उनको विश्वास छ।
स्रोत: नारायण खड्का/सेतोपाटी

प्रकाशित मिति February 18, 2021

प्रतिकृया दिनुहोस