आज ७१ औँ प्रजातन्त्र दिवस, मुलुकमा जहानियाँ राणा शासनको अन्त्य भएको दिन

पोखरा / नेपालमा आज (शुक्रबार) ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्य गरेर मुलुकले प्रजातन्त्र प्राप्त गरेको दिन प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई विक्रम संवत २००७ साल

पोखरा / नेपालमा आज (शुक्रबार) ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्य गरेर मुलुकले प्रजातन्त्र प्राप्त गरेको दिन प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

आजको दिनलाई विक्रम संवत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनलाई परास्त गर्दै प्रजातन्त्र स्थापना भएको सम्झना गरिन्छ । यसदिन मुलुकभर विभिन्न कार्यक्रमहरु आयोजना गरेर जनताले मुक्ती पाएको स्मरण गर्ने गरिएको छ । संघीय एवं प्रदेश सरकार, नागरिक समाज, विभिन्न निकाय, पेसाकर्मी, सरकारी तथा गैर सरकारी संघसंस्था र नागरिक तवरबाट प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर विगतदेखि नै मनाउने चलन छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । उनीहरुलाई वीर सहिदका रुपमा सधैँ नेपाली जनताले सम्झने गरेका छन् । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई मृत्युदण्ड दिइएको थियो ।

एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बीपी (विश्वेश्वरप्रसाद) कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको हो।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ । यस वर्ष सरकारले प्रजातन्त्र स्थापना भएको सम्झनामा राष्ट्रिय प्रजातन्त्र दिवस गत बुधबारदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको थियो ।

यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ दिवस मनाउने निर्णय सरकारले गरेको हो । गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो ।

समितिले अनुमोदन गरेअनुसार बुधबारदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न थालिएको थियो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो भने विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ । सो अवसरमा तीन दिनसम्म घरघर र विभिन्न स्थानमा दीपावलीका कार्यक्रम पनि भएन ।

प्रजातन्त्र दिवसका अवसरमा गरिने कार्यक्रमको प्रचारप्रसार गर्न सरकारले यस वर्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

प्रकाशित मिति February 19, 2021

प्रतिकृया दिनुहोस