सरकारी होस् या नीजिको कर्मचारी तलब लिन प्यान नम्बर अनिवार्य, अनलाईनबाट यसरी लिनुहोस्

सूचना दैनिक
बुधबार, साउन १, २०७६

आजदेखि नयाँ आर्थिक बर्ष २०७६/७७ सुरु भएको छ । नयाँ आर्थिक बर्षसंगै अब तलब लिन सरकारले प्यान कार्ड (Permanent Account Number- PAN) अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम अब कुनै प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन ।

नयाँ आर्थिक बर्षसंगै प्यान कार्ड नभएका कर्मचारीको तलब प्राईभेट कम्पनी, फर्म तथा निकायले खर्चको रुपमा देखाउन पाउने छैनन् । सरकारले कुनै पनि कर्मचारीलाई तलब दिँदा बैङ्क खातामार्फत् तलब दिनुपर्ने भएकाले प्यान अनिवार्य भएको हो । यसले सुरुवाती रुपमा ज्यालादारी रुपमा काम गर्दै आएका श्रमिकहरुलाई पनि वित्तियसंस्थासँग जोड्ने काम सरकारले गरेको छ । तर विराटनगर लगायत देशका अन्य स्थानमा यसको विरोध भैरहेको छ ।

प्यान कार्ड नलिएकाहरुले एक हजार रुपैयाँभन्दा माथिको तलब बैंकबाट लिनुपर्ने अनिवार्यता हुनेछ । एक हजार भन्दा कम लिंदा मात्र नगद कारोवार गर्न पाउनेछ ।

प्यान कसरी लिन सकिन्छ जान्नुहोस्

१. आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np मा जानुहोस्

२. होम पेजमा Taxpayer मा क्लिक गर्नुहोस र Registration मा क्लिक गर्नुहोस । त्यसपछि Application For Registration मा क्लिक गरी नाम थर भएको बक्समा आफ्नो नाम र थर लेखेर भर्नुहोस् ।

३. User Name मा आफूले सम्झने नाम राख्नुहोस् अनि Password हाल्नुहोस् र फेरि अर्को बक्स Re password मा राख्नुहोस् । आफ्नो सम्पर्क नम्बर र Email ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना IRO नम्बरमा खुलाउनुहोस् । त्यसपछि Ok बटनमा थिच्नुहोस् ।

४. अब तपाइको व्यक्तिगत विवरण माग्छ । सो अनुसार आफ्नो सम्पूर्ण विवरण भर्नुहोस र Submit गर्नुहोस ।

५. Submit भएपछि Print थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् ।

६. उक्त प्रिन्ट कपि लिएर सम्बन्धित राजश्व कार्यालयमा जानुहोस् ।

७. राजश्व कार्यालयले तपाईंलाई विवरण जाँच गरेर Pan कार्ड दिनेछ । यो सबै प्रक्रिया निशुल्क हो । प्यान कार्ड लिन कुनै शुल्क तिर्नु पर्दैन ।

सम्वन्धित समाचार

कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ ? यस्तो छ सरकारले निर्धारण गरेको आयकर दर


काठमाडौँ । व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ।

सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट संकलन गर्दै आएको छ।

सोहीअनुरुप सरकारले पनि आर्थिक वर्ष २०७६/०७७ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन १ गतेबाट मात्रै लागू हुनेछ।

आर्थिक विधेक २०७६’ मा व्यवस्था गरिएको आयकरका दर

अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकरः

४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ

४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४ हजार रुपैयाँ

५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँ

७ लाख माथि २० लाख रुपैयाँसम्मको हकमा ३० प्रतिशतको दरले थप ३ लाख ९० हजार गरी ४ लाख ४४ हजार रुपैयाँ

२० लाखभन्दा बढी आम्दानीको हकमा भने ७ लाखदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ। यसको अर्थ २१ लाख आम्दानी हुनेले ४ लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ।

विवाहितको हकमा

४ लाख ५० हजार रुपैयाँसम्ममा १ प्रतिशतका दरले ४ हजार ५ सय रुपैयाँ

४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म थप १० प्रतिशतका दरले १० हजार गरी १४ हजार ५ सय रुपैयाँ

५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्मको हकमा थप २० प्रतिशतका दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँ

७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा थप ३० प्रतिशतका दरले ३ लाख ७५ हजारसमेत गरी ४ लाख २९ हजार ५ सय रुपैयाँ

२० लाखभन्दा बढीको आम्दानीमा भने ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ। यसको अर्थ २१ लाख ५० हजार रुपैयाँ आम्दानी हुनेले ४ लाख ६५ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ।