आदित्यको परिकल्पनामा बन्यो विश्वकै दुर्लभ ढाँचाको मन्दिर, मन्दिरको दर्शन गरे मनले चाहेको पूरा हुनेछ

२९ चैत, काठमाडौं । गौरीघाट चोकबाट करिब डेढ सय मिटर दक्षिण लागेपछि दायाँतर्फ एउटा अनौठो संरचना तपाईंले देख्नुहुन्छ । सडकबाट हेर्दा सुन झैं टल्केको भीमकाय गाईको आकृति देखिन्छ । यसको गुह्य भने भित्र पसेपछि मात्रै थाहा हुन्छ ।

खासमा यो एउटा शिवमन्दिर हो, जुन एकदमै अनौठो ढाँचामा बनाइएको छ । मन्दिर एउटा जनावरको आकृतिमा छ, जसको अगाडिको भाग गाई तथा बीच र पछाडिको भाग नन्दी (बसाहा) को हो । नन्दीको पेटमा चाँदीको ढोका छ । ढोकाभित्र पसेपछि देखिन्छ, पञ्चमुखी शिवलिंग ।

शिवलिंगको सबैभन्दा तल्लो भागमा ब्रम्हा, त्यसपछि विष्णु र माथिल्लो भागमा महेश्वरका आकृति छन् । मन्दिरको प्रवेशद्वार दक्षिणमुखी छ भने पूर्वतर्फ साधना हल निर्माण भएको छ ।

नन्दीको पिठ्यूमाथि १८ फिट अग्लो ब्रम्हा, विष्णु र महेश्वरको तीन भागमा विभाजित त्रिगजुर रहेको छ भने ४१ फिट लामो नागको आकृति माथिबाट तल झरिरहेको देखिन्छ । पछाडि त्रिशुल–डमरु रहेको छ ।

जो कसैलाई जिज्ञासा उठ्छ, कसले गर्‍यो यस्तो अद्भूत डिजाइन ? जवाफले थप आश्चर्यचकित बनाउँछ । यस मन्दिरको परिकल्पना ९ वर्षे बालक आदित्य दाहालको हो । शारीरिक रुपमा अशक्त तर मानसिक रुपमा विलक्षण क्षमताका बालक हुन् उनी । उनैले दिएको खाका चित्रमा आधारित भएर इन्जिनियरले यस मन्दिरको विस्तृत नक्शा कोरेका थिए । मन्दिर निर्माणका हरेक प्रक्रियामा आदित्यले मार्गनिर्देश गरेका थिए ।

यसरी बन्यो मन्दिर

४ वर्षको उमेरमा एकाएक वाणी बन्द भएका आदित्य मनमा लागेका हरेक कुराहरु कलमले लेखेर अभिव्यक्त गर्ने गर्छन् । अध्यात्ममा गहिरो अभिरुची भएका उनले दुई वर्षअघि लेखेका थिए, ‘म अदभुत र अलौकिक एक मन्दिर निर्माण गर्न चाहन्छु । सबैको साथ र सहयोग चाहिन्छ । जुन मन्दिरले देश र हामी सबैलाई विश्वमा चिनाउनेछ ।’

आदित्यको संरक्षकत्वमा एउटा प्रतिष्ठान छ, आदित्य संरक्षण प्रतिष्ठान । आदित्यका हरेक अभिव्यक्ति प्रतिष्ठानका लागि गुरुमन्त्र बराबर हुन्छ । प्रतिष्ठानको गठन र पदाधिकारीको चयन आदित्य स्वयम्ले गरेका हुन् ।

प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाई भन्छन्, ‘उहाँले नै प्रतिष्ठानको वैठक डाक्नुहुन्छ र एजेन्डाहरु दिनुहुन्छ । त्यसमै रहेर हामी छलफल एवं निर्णय गछौं र उहाँबाट पारित गराउँछौं ।’

मन्दिर निर्माणको इच्छा व्यक्त गरेपछि आदित्य संरक्षण प्रतिष्ठानको वैठक बस्यो । सो वैठकमा आदित्यले एउटा स्केच पनि दिए, जुन देख्दा सबैजना अचम्भित बनेका थिए । उनले दिएको स्केच असामान्य खालको थियो । तर, आदित्य आफ्नो अवधारणामा स्पष्ट देखिन्थे ।

परिवार, अनुयायी र शुभचिन्तकसहितको छलफलपछि मन्दिर निर्माण गर्न प्राविधिक र इन्जिनियरसहितको कमिटी बनाउने निर्णय भयो । आदित्य स्वयम्ले कमिटीमा राख्ने व्यक्तिहरुको छनोट गरेको प्रसाईंले जानकारी दिए ।

आदित्यले आर्किटेक्ट इन्जिनियर र शिल्पकारहरुलाई आदित्यले लिखित सन्देश दिए, ‘यो मेरो पहिलो मन्दिर हो, जसलाई यस्तो उत्कृष्ट बनाऊ कि प्रत्येक नागरिकले एक पटक हेर्ने, दर्शन गर्ने इच्छा राखोस् । यस भूमिको सान बनोस्, जगजग होस् ।

प्रतिष्ठान आर्थिक रुपमा त्यति बलियो थिएन । केपी ओली नेतृत्वको यसअघिको सरकारले प्रतिष्ठानलाई १ करोड सहयोग गर्ने निर्णय गरे पनि त्यो रकम लिन आदित्यले अस्वीकार गरेका थिए । आदित्यका पिता तथा प्रतिष्ठानका अध्यक्ष शेषराज दाहालका अनुसार प्रतिष्ठानलाई दिने भनेको रकम आफूजस्ता अन्य शारीरिक अशक्तहरुको निम्ति खर्च गर्न आदित्यले सरकारलाई सन्देश पठाएका थिए ।

मन्दिर निर्माणको आर्थिक स्रोत कसरी जुटाउने भनेर प्रतिष्ठानका पदाधिकारीहरु अन्योलमा परेका थिए । आदित्य भने निश्चिन्त देखिन्थे ।

२०७४ चैत्र ३ गते एक छलफलमा उनले लेखे, ‘आर्थिकरुपमा संस्था बलियो हुँदै जानेछ, थाहा नपाई हामी कहाँ पुग्छौं कसैलाई पत्तो हुँदैन । तसर्थ नडराओ भनिरहन्छु । मात्र मेरो शरीरले साथ र तिमीहरुको स्वआत्मा–समर्पणको मिश्रण भए स्वर्ग यहीँ बन्छ ।’

आदित्यले तोकेको मितिमा मन्दिर शिलान्यास गरियो । त्यसपछि विभिन्न व्यक्ति र संस्थाहरुबाट सहयोग जुट्न थाल्यो । गौरीघाटमा जग्गा प्राप्त भयो ।

निर्माणका हरेक काममा आदित्यले निर्देश गर्दै गए । मन्दिरको सम्पूर्ण वास्तुशिल्प, त्यसलाई चाहिने उपकरण, धातु, काठ जस्ता भौतिक संरचनाको इन्च–इन्चको विवरण उनले दिएको लिखित दस्तावेजमा देखिन्छ । यति मात्र होइन, निर्माण सामग्रीहरुको ठेक्का कसलाई र कति मूल्यमा दिने भन्ने पनि उनी स्वयम्ले सुझाएका थिए । मूर्ति, गजुर, रंगरोगन, काठपात सबै उनको छनोटका थिए ।

मन्दिरभित्रको भित्तामा केको तस्बिर राख्ने भनी प्रश्न उगरिँदा आदित्यले लेखेका थिए, ‘पश्चिम भित्तामा ताण्डव नृत्य गरेको शिवरुपको चित्र र शक्ति स्वरुपमा पार्वती माताको विचित्रको महाकाली रुप ।’ यसै बमोजिम गरिएको छ । कामका प्रत्येक दिनका प्रगतिहरु आदित्यलाई जानकारी गराइन्थ्यो । थोरै मात्र चित्त बुझेन भने उनले सच्याउन लगाइहाल्थे । ‘यो मिलेन, त्यो यति इन्च घटाउ, यो बढाउ, पेट आँखा, नाक घाँटी यस्तो बनाउ भनेर लिखित निर्देशन प्राप्त हुन्थ्यो,’ एक प्राविधिकले भने ।

मन्दिरको जगदेखि गर्भगृह हुँदै शिवलिंग, पर्खालको दायाँबायाँ भागमा क्यानभासमा बनाएको शिवपार्वतीको विचित्र पेन्टिङ, सिलिङ र गजुर, ढोकाको डिजाइन सबैको खाका आदित्यले दिएका थिए । उनले प्रष्ट्याएअनुसार शिवलिंगको पूर्वी मुख शान्तिस्वरुप, पश्चिमी प्रेमस्वरुप, उत्तरको दयास्वरुप र दक्षिणको क्रोध स्वरुप हुन् ।

उनले एक प्रसंगमा लेखेका छन्, ‘मेरो इच्छा छ, मेरो पनि सानो सपना छ । संसारको आश्चर्यजनक शिव मन्दिर निर्माण गरी सारा ब्रह्माण्डभित्र लुकेको इनर्जीलाई यही माटोमा समाहित गराई एक आध्यात्मिक शक्तिशाली राष्ट्र कायम गरी संसारमा चिनाउने । मेरो कल्पनाले तब मात्र सार्थकता पाउँछ, जब हजुरहरुभित्रबाट आध्यात्मिक क्रान्ति भित्र्याउने सङ्कल्प उजागर भएर आउँछ ।’

मन्दिर बाहिर–भित्र, वरिपरि के–कहाँ राख्ने, कहाँ राख्ने, पर्वत, झरना, गर्भगृहदेखि नवग्रह, गणेश भगवान, बुद्ध, राम, राधाकृष्ण, सरस्वती, हनुमान, सूर्यनारायण सबैको ठाउँ तथा अवस्था उनलाई सोधेर मात्रै निर्धारण गरिएको थियो । मन्दिर निर्माणको सुरुवातमा एक बालकबाट निर्देशित हुँदा प्राविधिकहरुले निकै नौलो अनुभव गरे । तर, बिस्तारै अभ्यस्त भएका थिए ।

मन्दिरको वर्णन गर्दै बालक आदित्यले थप भनेका छन्, ‘यो मन्दिर मेरो जीवनको एक अंश चिनाउने आस्थाको केन्द्र हो । शिवात्माको तन्त्रविद्यादेखि, मृत्युमोक्ष प्राप्त हुने स्थल, हर अशान्तिलाई शान्त राख्ने केन्द्र, हर अशक्त बिरामीको मल्हम यस शिवालयको माटोमा छ । मात्र शुद्ध भावले यस क्षेत्रमा प्रवेश गरे, हर समस्याको सरल उत्तर पाउने यो पुण्यभूमि सारा जगत्मा चिनिनेछ । मेरा हर उद्देश्य पूरा हुनेछन् । मलगायत जगत् नै धन्य हुनेछौं । यस धर्तीको यो सूक्ष्म भागमा निर्मित यो अद्भूत देवस्थल एक दिन देवगण बस्ने स्थान बन्नेछ ।’

को हुन् आदित्य दाहाल

झापाका शेषराज दाहाल करिब एक दशकअघि काठमाडौं झरेका थिए । नागरिक उड्ययन प्राधिकरणमा जागिर खान थालेपछि उनले ०६४ सालमा ईश्वरा गुरागाईंसित घरजम सुरु गरे । शेषराज र ईश्वराका पहिलो सन्तानका रुपमा ०६७ साल, साउन ७ गते आदित्य जन्मिए ।

आमा ईश्वराका अनुसार जन्मँदा साढे ३ किलो तौल भएका आदित्य पूर्ण स्वस्थ थिए । ३३ महिनाको हुँदा उनी त्यसैगरी हुर्किए, जसरी आम बालबालिका हुर्किन्छन् । अरु जस्तै हाँस्थे, बोल्थे, उछलकुद गर्थे । त्यसपछि अनायास गल्न थाले । हातखुट्टा लुला हुँदै गए । अरुको सहाराबिना बस्न पनि नसक्ने भए । पहिले पटर-पटर बोलिरहने उनी बिस्तारै बोल्न पनि छाडे । बाँकी रह्यो केवल मुस्कान ।

आदित्यको अशक्ततासँगै दाहाल दम्पत्तिको चिन्ता बढ्दै गयो । उनीहरु छोरो बोकेर अस्पताल चहार्न थाले । कहलिएका न्यूरो सर्जनदेखि बालरोग, मनोरोग विशेषज्ञहरुसम्म पुगे । तर, उपचार त के, उनको बिमारी नै पहिचान हुन सकेन ।

भारतको गंगाराम अस्पतालमा पुर्‍याउँदा पनि नतिजा उही । ‘स्वास्थ्य परीक्षणमा सबै कुरा नर्मल देखिन्छ’ बाबु शेषराज भन्छन्, ‘तर छोरो खुट्टा टेक्न सक्दैन ।’

छोराको अशक्तताले चिन्तामा रहेका दाहाल दम्पत्तिले आदित्यलाई पढाउने कुरा सोच्नसमेत भ्याएका थिएनन् । तर, अचानक यस्तो भइदियो :

त्यो ०७० साल, असार २५ गतेको दिन थियो । आदित्यका बाबु र आमा (अर्थ मन्त्रालयकी जागिरे हुन्) दुबै जना अफिस गएका थिए । सधैंजस्तो ईश्वराकी भदै सुष्मा (दाइकी छोरी) घरमा भाइ हेरेर बसेकी थिइन् ।

सुष्माका अनुसार दिउँसो दुई बजेतिर आदित्य ओछ्यानमा पल्टिरहेका थिए, उनी पढिरहेकी थिइन् । आदित्यले एक्कासी ओछ्यानबाट उठेर कपी र कलम मागेको ईशारा गरे । सुस्मा भन्छिन्- ‘बाबुले केरकार गर्न मागेको होला भनेर अर्को पेज पल्टाएर दिएँ । तर उसले त अचम्म गर्‍यो ।’

आदित्यले देब्रे हातका चोरी र माझी औंलाबीच कलम च्यापे । अनि धमाधम अक्षरहरु लेख्न थाले । सुस्मा हेरेको हेर्‍यै भइन् । सुरुमा अ आ इ ई लेखेका आदित्यले त्यसपछि धमाधम काका, मामा, बाबा हुँदै सबैका नामहरु लेख्न थाले ।

‘मेरो त होसै उडेजस्तो भो,’ सुस्मा भन्छिन्, ‘तुरुन्तै दिदी-भिनाजुलाई फोन गरेरँ सुनाएँ । तर, उहाँहरुले हाँसेर उडाउनुभो । घर फर्केर आफ्नै आँखाले देखेपछि मात्र उहाँहरु चकित पर्नुभो ।’

त्यस दिन दाहाल परिवारमा ठूलै खल्बली उत्पन्न भयो । सबैजना स्तब्ध अचम्मित थिए । आदित्यका मामा शम्भु गुरागाईं भन्छन्, ‘भाञ्जाले जे भन्यो त्यही लेखेको देख्दा म आश्चार्यले धेरैबेर बोल्न समेत सकिँन । १५ मिनेटजति बेहोसजस्तै भएँ ।’

त्यसपछि आदित्यले जसले जे सोधे पनि जवाफ लेख्न थाले । उनको अद्भूत क्षमता एक कान दुई कान हुँदै फैलियो । पहिले आफन्त, त्यसपछि छिमेकी र अनि सञ्चारमाध्यमको लर्को लाग्यो ।

#हरेक_प्रश्नको_जवाफ

सुरु-सुरुमा धेरैले आदित्यको ज्ञान परीक्षण गर्न सामान्य ज्ञानका प्रश्नहरु सोध्थे । उनलाई यूक्रेनका राष्ट्रपतिको नामदेखि फाउन्टेन पेनका आविष्कारक को हुन् भन्नेसम्मका प्रश्न सोधिए, जसको उनले सही उत्तर दिँदै गए ।

आदित्यलाई वेद, उपनिषदका श्लोकहरु लेख्न लगाइयो, उनले लेखे । हुँदाहुँदा उनले चाइनिज, कोरियन र रसियनजस्ता विदेशी लिपिहरुमा पनि विभिन्न शब्द लेखेर सबैलाई आश्चार्यचकित तुल्याइदिए ।

उनलाई धेरैले अनेकखाले भविष्यवाणी गर्न लगाएका थिए । कतिपय प्रश्नको सटिक उत्तर दिएका छन् भने कति प्रश्नको कुटनीतिक र घुमाउरो जवाफ दिन्छन् ।

नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन भनेर सोधिँदा उनले लेखेका थिए, ‘जनमत संग्रह गरौं ।’

नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनले जवाफ थियो, ‘नेताहरुको झगडा मिलेपछि ०७२ सालभित्र । यो प्रश्न ०७१, साउनमा सोधिएको थियो ।


त्यति नै बेला उनलाई सोधिएको थियो, सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला ? उनले जवाफ लेखेका थिए- ‘केपी ओली ।’

तिम्रो शक्तिको स्रोत के हो भनेर सोधिँदा उनले सरस्वती माता लेख्ने गरेका छन् । आदित्यले आफूलाई १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका छन् ।

पछिल्लो समय उनी दार्शनिक र सन्देशमूलक कुराहरु बढी लेख्छन् । उनको लेखाइ बेलाबखत साहित्यिक र क्लिष्ट समेत हुन थालेका छन् ।

उनले लेखेको एउटा सन्देश छ- ‘प्रेम यस्तो अमृत हो, जसले मृत्यूको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।’

आदित्यले असार २५ गतेको दिनलाई ‘आफू निद्राबाट ब्युँझेको दिन’ का रुपमा चित्रण गरेका छन् ।

गत असार २५ गते भने उनले अलि निराशाजन सन्देश लेखे- ‘म निद्राबाट ब्यूँझेको एक वर्ष बितेछ । समय र परिस्थितिले खासै साथ दिएन । त्यसैले निश्चित तोकेका उद्देश्य पूरा गर्न बाँकी रहेकोमा क्षमाप्रार्थी छु, मलाई यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद ।’

प्रकाशित मिति July 17, 2019

प्रतिकृया दिनुहोस