रौतहटका बाढीपिडित भन्छन् : भोट दिएर जिताएका नेता हेलिकोप्टरमा घुम्न आए, डा. केसी भगवान बनेर आउँनुभयो

सूचना दैनिक
शनिबार, साउन ४, २०७६

काठमाडौं । हरेक वर्ष तराईमा बाढी र डुबानले सताउने गर्दछ । जनता भारतका कारण तराई मधेश डुबेको बुझ्दै आइरहेका छन तर सरकारका मन्त्रीहरु यो कुरा स्विकार गर्न मान्दैनन् । केही दिन पहिले चार मन्त्रीसहित नेपाली सेनाको हेलिकोप्टरमा निरीक्षण गर्न गएका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ लगायतका नेताहरुले तराई–मधेश डुब्नुमा भारत जिम्मेदार नभएको स्पष्ट पारेका छन् ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अहिले झण्डै १ सय जनाको ज्यान लिएको जिपत्तिको जिम्मा चुरे क्षेत्रले लिनुपर्ने बताउनुभयो । नेताहरुको यो कुराले सर्वसाधारण भन्छन्, ‘यदी नेपालका कारण नै विपत्त आइराखेको हो भने अहिलेसम्म रोकथामका लागि केही पहल गर्नुपर्ने हो ।’

तर अर्को तिर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भने तराईका बाढी–डुबान आउँनुमा भारतको ठुलो हात भएको स्विकार गर्नुभएको छ । यो बीचमा अहिले राहत तथा उद्धारका कामहरु भइरहेका छन् । हरेक वर्ष यस क्षेत्रमा आएको विपत्तमा मल्हम लगाउन वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गोविन्द केसी पुग्ने गर्नुहुन्छ ।

अहिले पनि केसी बाढी प्रभावित बस्ति मै पुगेर निशुल्क स्वास्थ्य परीक्षण गरिरहनु भएको छ । भारतीय बाँधका कारण वर्षा र बाढीको पानीको निकास नभएर सवै भन्दा बढी क्षति र विस्थापित भएका रौतहटको इशनाथ नगरपालिका १ बन्जरहामा उहाँले बाढीबाट प्रभावित पीडितहरुको स्वास्थ्य परीक्षण गर्नुभएको छ ।

विनाशकारी बाढीको डुबानमा रहेका इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै गएको देखिएपछि शुक्रवार बिहानै रौतहट सदरमुकाम गौरबाट औषधि, कपडालगायतका राहत सामग्री लिएर केसी बस्तीमा पुग्नु भएको हो । बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा शिविर खडा गरी त्यहाँ आउने बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको छ ।

बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका विरामीहरुको स्वास्थ्य परीक्षण गरेर निःशुल्क रुपमा औषधि वितरण गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर लिएर नेताहरुको लावालस्कर जाँदा जनताले राहत महसुस गर्ने भन्दा पनि तनाव पाउँने गरेका छन् ।

र यो पनि पढ्नुहोस् : झोला भरी औषधि बाेकेर डाक्टर केसी बाढी पीडित नागरिककाे उपचार गर्न रौतहट पुगे !