रविलाई भेटेर आइजीपी सर्बेन्द्रले भने, ‘असुरक्षित भएको महशुस भएमा सिधै मलाइ फोन गर्नुहोला’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरे। भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरेका थिए। साथै खनालले असुरक्षित भएको महशुस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्ता उत्तमराज जोशीले जानकारी दिए।

शालिग्रामको मोबाइलबाट पुराना सबै डाटा रिकभर गरियो

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुमा झु ण्डि एको अवस्थामा मृ त भेटिएका थिए। उनले आ त्मह त्या गर्नु अघि रुँदै आफैले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए। सो भिडियोमा आफूलाई पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले बाध्य पारेको बताएका छन्। सोही भिडियोको आधारमा रवि सहित तीनै जनालाई प्रहरीले साउन ३० गते प क्राउ गरी चितवन लगेको थियो ।

चितवन प्रहरीको अनुरोधमा प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब (डिएफएल) ले २० साउन २०७६ मा मृ त्तक शालिकरामका साथबाट बरामद मोबाइलका सम्पूर्ण डाटा रिकोभर गरेको छ। शालिकरामले बोकेको उक्त मोबाइल सञ्चालन भएदेखिका डाटाहरु रिकभर गरिएका हुन्। पहिला–पहिला मेटाएका फोटो, अडियो र भिडियोे समेत रिकोभर गरिएको हो। ‘मोबाइलमा भएका सबै डाटा रिकोभर भएका छन्। मुद्दाको अनुसन्धानसँग जोडिएका प्रमाण ठहरिने विषय मात्र हामी हेर्नेछौं,’ प्रहरी स्रोतले भन्यो ‘अनावश्यक विषय सुरक्षित रुपमा प्रहरीले राख्नेछ।’

डिएफएलको प्रतिवेदन शनिबारदेखि चितवनमा खटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दीपक रेग्मीको टोलीले विश्लेषण गरिरहेको छ। सोमबार अपरान्ह प्रहरीले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागले पठाएको शालिकरामको पोष्टमार्टम रिपोर्टका आधार समेत अनुसन्धान गर्नेछ।

कपडा सुकाउन भन्दै डोरी खरिद : शालिकरामले घटना हुनभन्दा केही घण्टा अघि चितवनको पोखरा बसपार्कस्थित होटल कंगारु नजिकै रहेको होलसेल पसलबाट पाँच मिटर नाइलनको डोरी खरिद गरेको अनुसन्धानमा पुष्टि भएको छ। कंगारु होटल रहेको स्थानबाट सडक वारी रहेको सो पसलमा पुगेका उनले आफुलाई कपडा सुकाउन डोरी चाहिएको भन्दै पाँच मिटर खरिद गरेका थिए। उनी पसलमा गएको क्लोज सर्किट क्यामरामा रेर्कड भिडियो प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति August 23, 2019

प्रतिकृया दिनुहोस