यसपटकको दशैँमा नयाँ होइन सुकिला नोट !

काठमाण्डाै – नेपाल राष्ट्रबैंकले बर्सेनि दशैँमा नोट छपाइमा मात्रै १ अर्ब रुपैयाँभन्दा धेरै खर्च गर्दै आएको छ ।

अघिल्लाे वर्षको दशैँमा पनि नेपाल राष्ट्रबैंकले ७९ करोड रुपैयाँ खर्च गरेको थियो । हरेक वर्ष नोट मैलो हुँदा र च्यातिँदा राष्ट्रबैंकले छपाइको लागि ठूलो मात्रामा पैसा खर्च गर्दै आएको छ ।

नेपालमा नोटको सुरक्षामा ध्यान नदिँदा बर्सेनि करोडौँ रुपैयाँ खर्च भैरहेको भन्दै राष्ट्रबैंकले नागरिकस्तरमा कसरी पैसा सफा राख्ने, कसरी कच्याककुचुक नपार्ने लगायतका जनचेतना दिने प्रयास गरिरहेको छ । तर पनि पैसामा केरकार गर्ने, फोहोर गर्ने, कच्याककुचुक पार्नेलगायतका समस्या हटेका छैनन् ।

नयाँ नोट पनि वर्षदिनमै झुत्रा हुने भएपछि राष्ट्रबैंकले यो दशैँमा भने केही दरका नोट नयाँ नछाप्ने योजना बनाएको छ । विशेषगरी १०, २० र ५० रुपैयाँ दरका नोट नयाँ नछाप्ने र गोदाममा रहेका सुकिला नोट प्रयोग गर्ने राष्ट्रबैंकको तयारी छ ।दशैँमा १०, २० र ५० दरका नोट धेरै उपयोग हुने गरेका छन् ।

‘हेर्दा नयाँजस्ता देखिने विभिन्न दरका नोट हामीसँग गोदाममा छन्, त्यसैले यो दशैँमा नयाँ नोट नछापेर सुकिला नोटले काम चलाउनेबारे छलफल भैरहेको छ’, राष्ट्रबैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले भन्नुभयो ।

५, १००, ५०० र १००० दरका नोट भने नयाँ छपाइ गरिने राष्ट्रबैंकले जनाएको छ ।

र यो पनि पढ्नुहोस्

नोटको जतन किन र कसरी गर्ने ?

हाम्रो कामको आर्थिक आम्दानी भनेको नै मुद्रा हो । नेपाल सरकारले वा नेपाल राष्ट्र बैंकले निष्काशन गरेको नोट, मोहर, रुपैयाँ, रेचकी वा पैसा नेपाली मुद्रा हुने भनी नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ को दफा २ मा उल्लेख गरेको छ । सबैले मुद्राको प्रयोग हिफाजतका साथ गर्नुपर्छ । अझ कागजी नोटलाई त बढी हिफाजतका साथ प्रयोग गर्न सकेनौं भने त्यसको आयु चाँडै नै घट्छ । नोटलाई जथाभावी प्रयोग गर्दा च्यातिने, मैलो हुने, नोटको अक्षर, चिह्न, चित्र, नम्बर आदि नचिनिने भई झुत्रो हुने गर्छ ।

नोटमा लेख्ने, केरमेट गर्ने, जथाभावी दोबार्ने, नोटको प्याकेटमा स्टिच लगाउने गर्नाले पनि नोट फोहोर हुने र च्यातिने सम्भावना हुन्छ । प्रायःजसो बैंक तथा वित्तीय संस्थाले नोटको प्याकेटमा स्टिच लगाउने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकले २०७१ जेठ २३ गते जारी गरेको परिपत्रले एउटा मात्र स्टिच गर्न पाउने निर्देशन दिएको थियो । पछि राष्ट्र बैंकले नोटको प्याकेटमा स्टिच नगर्न २०७३ वैशाख १२ गते अर्को परिपत्र जारी गरेको थियो । नोटमा केरमेट नगर्ने र जथाभावी च्यात्ने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो संस्थामा प्राप्त हुने नोटहरूलाई चलनचल्तीमा पठाउन योग्य वा अयोग्य छुट्ट्याउनुपर्ने र योग्य नोटको प्याकेटमा अनिवार्य रूपमा बैंकको नाम, नोट गन्ती गर्ने कर्मचारीको नाम, सही र छापसहित सेतो रङको स्लिप मात्र प्रयोग गर्नुपर्ने तथा अयोग्य नोटको प्याकेटमा पनि सोही बेहोरा उल्लेख गरी रातो रङको स्लिप मात्र प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ ।

सफा र गुणस्तरयुक्त नोट प्रयोग गर्न पाउनु सबैको अधिकार हो । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा बैंक नोटमा अबदेखि स्टिच नगर्न, केरमेट नगर्न, जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको थियो । नोट सभ्यताको प्रतीक पनि हो । नोटले विश्वमा राष्ट्रको पहिचान कायम गर्न मद्दत गरेको हुन्छ । नेपाली नोट नेपालको पहिचान पनि भएको हुँदा सबैले सुरक्षित साथ सफा नोट प्रयोग गर्नेतर्फ अग्रसर हुनुपर्छ ।

राष्ट्र बैंकले च्यातिएको, मेटिएको वा झुत्रिएको नोट पुनः निष्कासन गर्दैन । सभ्य नागरिकले नोटलाई झुत्रोमैलो बनाई, च्याती यसको आयु घटाई राष्ट्रलाई आर्थिक व्यय भार पुर्याउने कार्य गर्नु शोभनीय हुँदैन । त्यसैले, विभिन्न सङ्घ, संस्था, व्यक्ति विशेषले नोटको हिफाजत गरी सुरक्षित तरीकाले प्रयोग गर्न सिक्ने र सिकाउनेतर्फ सबै अग्रसर हुनुपर्छ ।

प्रकाशित मिति August 24, 2019

प्रतिकृया दिनुहोस