जेट एयरको एरजहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ

सूचना दैनिक
आइतवार, भदौ ८, २०७६

नक्कली फेसबुक आइडी खोलेर जेट एयरवेजमा काम गर्ने भन्दै ठगी गर्ने एक महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ।

ती ‘नक्कली एयरहोस्टेस’लाई झापा प्रहरीले टागनडुब्बाबाट आइतबार पक्राउ गरेको हो। पक्राउ पर्नेकी महिला झापा अर्जुनधारा नगरपालिका-६ की २७ वर्षीया तबिता राई हुन्।

गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा उनले नक्कली फेसबुक आइडी खोलेर ठगी गर्दै आएको झापा प्रहरीले जनायो। आफ्नो घर सिक्किम, भारतमा रहेको र आफू जेट एयरको एयरहोस्टेस भन्दै उनले रकम माग गर्दै आएको झापा प्रहरीले जनाएको छ।

‘बुवा अमेरिकामा बस्ने र आमा डाक्टर, दाजु पाइलट हुनुहुन्छ भनी आफ्नो परिचय दिएर मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरी नजिक भएर ठगी गरेको देखिएको छ,’ झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले भने, ‘लामो समय कुराकानी गरेपश्चात विवाह गर्नेसम्मको प्रलोभन दिई केही समस्या देखाएर पुरुष व्यक्तिहरूसँग रकम माग गरेको खुलेको छ।’

पक्राउ परेकी राई। तस्बिर: दिनेश मैनाली/प्रहरी उपरीक्षक, झापा

मैनालीका अनुसार ती युवतीले दुई युवाबाट करिब चार लाख रुपैयाँ ठगेको उजुरी छ। राईले रकम नदिएमा आत्महत्या गर्ने भनी धम्की समेत दिने गरेको मैनालीले बताए।

राईलाई झापा अदालतबाट ठगी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको मैनालीले बताए।

उनका अनुसार नक्कली फेसबुक आइडीमा राईले अरुकै फोटोहरू राखेर मेसेन्जरमा भ्वाइस कल मात्र गर्ने गरेको थाहा भएको छ। सक्कली अनुहार देखिने डरले भिडियो कल नगर्ने गरेको अनुसन्धानमा खुलेको छ।

‘जेट एयरलाइन्सको एयर होस्टेसको फोटोहरू इन्स्ट्राग्रामबाट निकाली आफूले खोलेको नक्कली फेसबुक आइडीमा अपलोड गरेको फेला परेको छ,’ प्रहरी उपरीक्षक मैनालीले भने।