अमेरिकामाबाट एक नेपाली पत्रकारको प्रश्न : राज्य ठूलो कि रवि ?

सूचना दैनिक
सोमवार, भदौ ९, २०७६

सूर्य थापा

कुनैबेला अमेरिकामा नजिकै रहेर सहकार्य समेत गरेका रवि लामिछानेजीको गल्ती रहेनछ भने अन्याय भोग्नु नपरोस् भन्ने मेरो शुभकामना छ । तर, उनलाई उजुरी परेपछि छानविनका लागि हिरासतमा लिनासाथ नै राज्य नै लागेर डुबाउन लाग्यो भन्ने प्रवृतिप्रति भने पटक्कै चित्त बुझेको छैन ।

मलाई थाहा छ, फेसबुक र युट्युबमा विभिन्न शीषर्कमा राज्य र प्रहरी प्रशासनलाई दिनरात गाली गर्नेलाई यो कुरा अवश्य मन पर्दैन । तर, प्रश्न मन पर्ने वा नपर्ने भन्ने हैन । प्रश्न के हो भने कुनै व्यक्ति मनपर्यो भन्दैमा उसलाई राज्यको कानुनभन्दा माथि राख्नुपर्छ भन्ने हो ? यदि यही नै हो भने यो सभ्य नागरिकलाई सुहाउने कुरै हैन ।

उनकै पूर्वसहकर्मीले आ’त्मह’त्या गर्न बाध्य पारेको आरोप लगाएका आधारमा यतिबेला रवि लामिछानेलाई छानविनका लागि हिरासतमा लिइएको छ । हरेक राज्यमा कानुन हुन्छ र त्यो कानुनलाई लागू गराउने निकाय भनेको प्रहरी हो ।

कानुनभन्दा माथि कोही पनि हुनेछैन र कानुन सबैलाई बराबर लाग्नेछ भन्ने अपेक्षा र विश्वासका साथ गणतन्त्र ल्याएका सबै जनताका लागि कानुन बराबर हुने हैन र ? राज्यको कुनै पनि ब्यक्तिलाई आरोप लागेपछि त्यस घटनाको सत्य तथ्य के हो र दोषी को हो, अनि निर्दोष को हो भनेर प्रहरीले हिरासतमा लिन जो कोहीलाई सक्ने कानुन बनेको छैन र ?

हाम्रै छिमेकी देश भारतमा पनि चर्चित ब्यक्तित्व सलमान खान, सञ्जय दत्तलाई कानुनले त्यसै छाडेको थियो र ? अहिले पी चिदम्बरम पक्राउ परेका छन् ।

सबैका लागि समान र अन्धो हुन्छ भन्ने कानुनको नजरमा कुन व्यक्ति कति चर्चित छ भन्ने लेखाजोखा गरेर कानून लागु गर्न थालियो भने राज्यको हालत के होला ? हामी राज्यमा पद्दतिको विकासको कुरा पनि गर्ने, अनि कुनै ब्यक्तिलाई कानुन लाग्ने र कुन ब्यक्तिलाई कानुनले छुंदै नछुने भन्ने बहस गर्न लाग्यौं भने कहाँ पुग्छौं ?

आज रवि लामिछानेले पत्रकारितामार्फत गरेको काम सराहनीय मान्न सकिन्छ । तर, उनका धेरै राम्रा काम हुँदा पनि कुनै एक कामले कानुनको उल्लंघन भयो भन्ने आरोप लाग्यो भने त्यो अरू राम्रा काम गरेकाले छुट हुन्छ भन्ने हुन्छ र ? अनि छानविनका लागि हिरासतमा लिँदा प्रहरी अनि सरकार र सिंगो गणतन्त्रकै विरुद्धमा नारा लाग्नु सान्दर्भिक होला त ?

हामी आवेश वा भावनामा बगेर भन्दा पनि ठण्डा दिमागले सोचेर पहिला राज्य अनि ब्यक्तिको कुरा गर्नुपर्ने समय आएको हैन र ? राज्य बलियो भयो भने पत्रकार, कलाकार, वा कुनै पनि क्षेत्र दीर्घकालका लागि नै बलियो बन्छ । तर, त्यसो नभएर कुनै ब्यक्तिलाई बलियो बनाउन थालियो भने त्यसले सिर्जना गर्ने भनेको त अराजकता नै हो । अनलाइनखबर