फुटपाथमा पार्किङ गरिएको यातायात मन्त्रीकै गाडीमा ट्राफिक प्रहरीको ताला !

सूचना दैनिक
बुधबार, भदौ ११, २०७६

काठमाडौं। काठमाण्डौ – फुटपाथमा पैदल यात्री हिँड्नै गाह्रो हुने गरी पार्किङ गरी राखिएको मन्त्रीकै गाडीमा ट्राफिक प्रहरीले ताला(ह्वील लक) लगाएको छ । बुधबार दिउँसो नयाँ बानेश्वरमा फुटपाथमै पार्किङ गरेर राखिएको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने झण्डावाल बा २ झ नम्बरको गाडीमा ट्राफिक प्रहरीले ताला लगाएको हो ।गाडीमा मन्त्री महासेठ नभएको र चालकले जथाभावी रुपमा पार्किङ गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

चालकलाई एक हजार जरिबाना तिराएर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।नियम कानुन कार्यान्वयन गराउने व्यक्तिहरुले नै यसरी नियम मिचेपछि पटक–पटक आलोचनाको सिकार हुँदै आएका छन् । यसअघि पनि सिंहदरबारको पूर्वी गेटनजिकै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी चढ्ने बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको थियो ।