पर्यटनमन्त्री भट्टराई भन्छन् : जेष्ठ नागरिकको हवाई भाडा छुटमा आनाकानी गर्नेलाई पाप लाग्छ

सूचना दैनिक
शनिबार, भदौ १४, २०७६

भरतपुर — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाई उडानमा ५० प्रतिशत छुट दिएको घोषणा गरेकै भोलिपल्ट सेवा प्रदायकहरुले यस्तो छुट दिन नसक्ने बताएपछि पाप र धर्मको ख्याल राखेर भए पनि आन्तरिक हवाई उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको घोषणा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

नवलपुरको हुप्सीकोटमा पर्यटन प्रवर्द्धन कार्यक्रममा सहभागी हुन आइपुगेका मन्त्री भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । यसैसाता पर्यटनमन्त्री भट्टराईले ७० वर्ष उमेर पुगेकाहरुलाई हवाई उडानमा ५० प्रतिशत छुटको घोषणा गरेका थिए ।

उनको घोषणा कार्यान्वयनमा आउनु अगावै निजी एयरलायन्स सञ्चालकहरुले विभिन्न टिप्पणी गरेको प्रसंग जोड्दै उनले भने ,‘उहाँहरु आफैले आएर यस्तो घोषणा गरेका छौं भन्नुहोला भन्ने आशा थियो आउनुभएन । तर सरकारले गरेको निर्णयमा पनि विभिन्न टिप्पणी आएका छन्, त्यसको म स्वागत नै गर्छु । उहाँहरुले पनि पाप र धर्मको ख्याल त राख्नुहोला नि ।’ यसैबिचमा केही सामाजिक प्रयोगकर्तालाई आश गरेका नेता योगेश भट्टराईबाट पनि अरु नेताहरुले जस्तै सोचविचार र सरोकारवालाहरुसँग छलफल नगरी निर्णय गरेको भन्दै विरोध गरेका छन् ।

फेसबुकमा रोल्पाका उमेश सुवेदी लेख्छन् “लागेको थियो योगेश भट्टराईले त मन्त्री भएपछि केही पक्कै गर्नेछन् । तर, उनी पनि हचुवा सावित हुने खतरा देखियो । मन्त्री भट्टराईले ७० बर्षमाथिका नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट हुने घोषणा गरेको २ दिनमै निजी हवाई सेवा प्रदायकहरुले कार्यान्वयन गर्न नसकिने बताईसके । यसले के देखाउछ भने योगेश पनि सरोकारवालासँग छलफलबिनै पहिले ताली खाने र पछि गाली खाने स्वाभावकै राजनीतिज्ञ रहेछन् । अब जनताले विश्वास गर्न बाँकी को नै रहे र ?”

भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्नको लागि सरोकारवाला निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ३ महिनाभित्र लागू गर्न निर्देशन दिएका थिए । मन्त्री भट्टराईले निर्णय कार्यान्वयन भइ छाड्ने उनले दाबी गरेका छन् ।

नेपालको आन्तरिक हवाई भाडादर निकै महंगो भएको टिकाटिप्पणी आइरहेका बेला उनले भाडादर समायोजन गर्ने जिकिर गरे ।‘ हो भाडादर महंगो छ, पर्यटकका लागि त झनै मंहगो छ, जसको मारमा पर्यटन व्यवसाय परेको छ,’ उनले भने, ‘भाडादर समायोजन गर्ने तयारीमा छौं ।’

नेपाल भ्रमण वर्ष २०२० लाई हाउगुजीका रुपमा हेर्नु नपर्ने उनले बताए । ‘भ्रमण वर्षमा भित्र्याउने भनिएको २० लाख पर्यटकको लक्ष्य धेरै महत्वकांक्षी छैन,’ उनले भने, ‘लक्ष्य पूरा गर्न हामीलाई केवल ४/५ लाख पर्यटक बढाउनुपर्ने त हो ।’

नेपालमा हाल १० देखि १५ लाख पर्यटक वार्षिक भित्रिएको अवस्था रहेको उनले जोडे । पर्यटन वर्षलाई सफल बनाउन मन्त्रालयले अन्तराष्ट्रिय स्तरमा नेपालको प्रचारप्रसार र विमानस्थल सुधारलाई प्राथमिकतामा राखेको पर्यटनमन्त्री भट्टराईले बताएका छन् । निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय विमानस्थलको काम द्रुत गतिमा अघि बढेको उनले बताए ।

तेस्रो पर्यटकीय गन्तव्य चितवनमा पनि विमानस्थल नै मुख्य समस्या रहेको भन्दै धावन मार्ग विस्तार र रात्रीकालीन उडान अनिवार्य आवश्यकता रहेको बताए । मन्त्री भट्टराईले विमानस्थलको टर्मिनल भवनलाई आधुनिक र व्यवसायिक बनाउँदै काठमाडौं बाहिरको वैकल्पिक डोमेस्टिक विमानस्थल बनाउने लक्ष्यका साथ काम अघि बढाइने दावी गरे ।

पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितको सर्वदलीय सर्वपक्षीय बैठक जिल्लामा नै राखेर काम अगाडि बढाउने उनको भनाई छ ।‘ विमानस्थल विस्तार गर्दा आउने सबै अवरोध हटाउने विकल्प हामीले देखिसकेका छौं,’ उनले भने, ‘पहिलो पहल स्थानीय तहबाट होस् भन्ने चाहन्छौं ।’