दाहाल तन्त्र भित्र देखिएको परिवारवाद, नाताबाद र कृपाबाद !

सूचना दैनिक
शनिबार, भदौ १४, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र परिवारवाद भित्र्याएका छन् । जसरी भारतमा गान्धी र नेपालमा कोइराला परिवारलाई यसअघि परिवारवादमा फसेको आरोप लगाइन्थ्यो, त्यसैगरी ।

छोराछोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइलाई पार्टीको प्रदेश अध्यक्ष, ज्वाइँलाई सरकारी नियुक्ति दिलाउने र काका नाता लगाउनेलाई राजदूतको नियुक्ति दिलाउनेसम्ममा प्रचण्डले ‘कीर्तिमान’ नै खडा गरेपछि त्यो आरोप प्रचण्डतिर सरेको हो ।

तत्कालीन नेकपा माओवादीले शुरू गरेको जनयुद्धमा परिवारका सदस्यलाई समेत आफूसँगै बन्दुक बोकाएर ‘उदाहरणीय’ बनेका अध्यक्ष दाहाल यतिबेला हामीबाट ‘म’मा रुपान्तरित भएको पार्टीवृत्तमा चर्चा चल्न थालेको छ ।

त्यसो त दाहाल पारिवारवादको चङ्गुलमा फसेको नवीन र ताजा घटना होइन । २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेलादेखि नै उनले ‘दाहालतन्त्र’को सूत्रपात गरेका हुन् ।

त्यतिबेला हाल दिवंगत भइसकेका छोरा प्रकाश दाहाललाई सचिवालयमा नियुक्त गरेको भन्दै पार्टीभित्र आलोचनाको स्वर सुनिएको थियो । त्यसो त पत्नी सीता दाहाल तत्कालीन माओवादी केन्द्रको सल्लाहकार कमिटीमा थिइन् । पार्टी एकतापछि भने उनी कुनै जिम्मेवारीमा छैनन् । बिरामीले गालेकाले सक्रिय हुन सक्दिनन् ।

दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदा पनि उनले परिवार र नातागोतालाई सरकारी नियुक्ति दिलाउन छाडेनन् । नाताले आफ्नै भतिजा पर्ने समीर दाहाललाई उनले पीए नियुक्त गरेका थिए । त्यस्तै छोरा प्रकाश दाहाललाई पनि दाहालकै पार्टी पोलिट्व्यूरो सदस्य र प्रधानमन्त्रीको सचिवालयमा राखिएको थियो ।

०७५ मा आइपुग्दा अध्यक्ष दाहाल परिवारवादको चङ्गुलमा नराम्ररी फसेको प्रतीत हुन्छ । यसपटक छोरी–ज्वाइँ, बुहारी, सम्धी, भतिजो गरी झन्डै १० जनालाई उनले सरकारी नियुक्ति दिलाएका छन् भने भाइ नारायण दाहाललाई नेकपाको प्रदेश अध्यक्ष बनाएका छन् ।

छोरीलाई मेयर, बुहारीलाई मन्त्री

०७४ वैशाखमा सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मतगणना सम्झन लायक रह्यो । कांग्रेस–माओवादी केन्द्रकी साझा उमेदवार प्रचण्डपुत्री रेणु दाहाललाई मेयर पदमा जिताउन मतपत्र च्यात्ने र दोहोर्याएर चुनाव गराउनेसम्म प्रपञ्च रचियो । मतपत्र च्यातेको कसुरमा तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई जिल्ला अदालत चितवनले दोषी ठहर गरी जनही एक–एकलाख रुपैयाँ जरिवाना सुनाइसकेको छ ।

मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष दाहालले बुहारी बिना मगरलाई कञ्चनपुर–१ को टिकट दिए भने ज्वाइँ जीवन आचार्यलाई मोरङ–६ को (क) प्रदेशको टिकट थमाए । बुहारी बिनाले चुनाव जितिन् भने कान्छा ज्वाइँ जीवन निर्वाचित हुन सकेनन् ।

स्वर्गीय छोरा प्रकाशकी कान्छी पत्नीका रूपमा भित्रिएकी बिनालाई सांसदमा निर्वाचित गराएरमात्रै पुगेन, मन्त्री नै बनाउने रहर जागृत भयो प्रचण्डमा । अहिले केपी ओली नेतृत्वको सरकारमा उनी सरसफाइ तथा खानेपानी मन्त्री छिन् । र, उनी नेकपाकी केन्द्रीय सदस्यसमेत हुन् ।

भाइलाई अध्यक्ष, ज्वाइँलाई स्वकीय सचिव

प्रचण्ड ‘दाहालतन्त्र’का कस्ता सर्जक हुन् भन्ने कुरा बुझ्न प्रदेश ३ को अध्यक्ष छनोट हेरे पुग्छ ।

५ असोजमा बसेको पार्टी सचिवालयको बैठकले प्रदेशको अध्यक्ष र इन्चार्ज तोकेको थियो । सात प्रदेशमध्ये चार प्रदेश पूर्व माओवादी केन्द्रको भागमा परेको थियो । त्यसमध्ये प्रदेश ३ को अध्यक्षमा आफ्ना भाइ नारायण दाहाललाई छनोट गरे ।

पद र जिम्मेवारी आफ्ना नाता–गोतालाई सुम्पने प्रचण्डको कदम यतिमै सकिँदैन । जेठी छोरी ज्ञानु दाहाल केसी (ज्ञानुको क्यान्सर रोगका कारण २०७० चैत १३ गते उपचारका क्रममा निधन भएको थियो) का पति सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्त गराएका छन् ।

माइलो ज्वाइँ अर्जुन पाठक (जो रेणु दाहालका पति हुन्) लाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको विशेष सल्लाहकार चयन गरिएको छ । सरकारी पदमा आसिन हुन बहिनीज्वाइँ पनि छुटेका छैनन् । प्रचण्डका बहिनीज्वाइँ खेम भण्डारीलाई भरतपुर अस्पतालको अध्यक्षमा नियुक्त गरिएको छ ।

टीबी पाठकका ज्वाइँ तथा छोरी रेणु दाहालका नन्देभाइ चूडामणि खड्कालाई पनि समानुपातिकतर्फको अपाङ्गताको कोटाबाट सांसद नियुक्त छन् ।

दुवै छोरी सत्ताको वरिपरि

माइली छोरी बाबुको ‘उत्तराधिकारी’का रूपमा भरतपुर महानगरको ‘बागडोर’ सम्हालिरहेकी छिन् भने कान्छी छोरी गंगा दाहाल पनि राज्यकोषको सेवा सुविधाबाट पर छैनन् । गंगालाई अध्यक्ष दाहालले आफ्नै सचिवालयमा राखेका छन् । दिवंगत छोरा प्रकाशको स्थानमा अहिले उनै कान्छी छोरी गंगा दाहाल छिन् ।

सत्ताको सुविधाभोगबाट कान्छा ज्वाइँ जीवन आचार्य पनि अछुतो छैनन् । मोरङ ६–को प्रदेशसभामा पराजित भएका आचार्य केही समयअघि उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष सल्लाहकारमा नियुक्त भएका छन् । उनी एक वर्षअघिदेखि त्यहाँ बहाल रहेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

दाहालतन्त्रको पछिल्लो सदस्य बन्न आइपुगेका छन्– प्रचण्डलाई काका साइनो लगाउने महेश दाहाल । छ महिना अघिमात्रै कांग्रेस परित्याग गरी नेकपा छिरेका दाहाल प्रचण्डकै कोटाबाट अस्ट्रेलियाको राजदूत सिफारिस भएका छन् ।

प्रचण्डपथको पटाक्षेप

नाता–गोता, इष्टमित्रलाईमात्रै पोस्ने दाहालको कार्यशैलीको पार्टीभित्र विरोध हुन थालेको छ । विशेषगरी पूर्वमाओवादीभित्र उनको कृत्यप्रति असन्तुष्टि चुलिएको हो ।

कतिपय नेता–कार्यकर्ताले यसलाई प्रचण्डपथको नैतिक अवसानका रूपमा समेत व्याख्या गरेका छन् ।

“जनयुद्धमा परिवारका सदस्यलाई पनि आफूसँगै भूमिगत बनाउने र परिवर्तनको बाटोमा हिँडाउने प्रचण्डको शान्तिपूर्ण राजनीतिमा आइसकेपछि त्यसको उपलब्धि आफ्नै परिवारको पोल्टामा परोस् भन्ने मान्यताबाट अघि बढिरहनुभएको छ,” पूर्वमाओवादीका एक नेता भन्छन् ।

त्यस्तै छिमेकी मुलुक चीनमा कतिपय राजनीतिक नेतृत्वले क्रान्तिताका सशस्त्र संघर्षमा ज्यान गुमाएका सहिद परिवार र तिनका छोराछोरीलाई अभिभावकत्व प्रदान गरेको र कतिपयको पढाइ नै नेताहरूले पूरा गरिदिएको पाठ पढाउने नेताहरूले शान्ति प्रक्रियामा अवतरण भइसकेपछि आफ्नै परिवारभन्दा बाहिर निस्कन नसक्नु दुखद् भएको ती नेताको भनाइ छ।