काठमाडौँबाट एकाएक बेपत्ता भइन रेजिना, सेती नदीमा भेटियो यस्तो प्रमाण

सूचना दैनिक
सोमवार, भदौ १६, २०७६

वालिङ । पढ्न भनेर घरबाट निसकिएकी स्याङ्जाकी एक किशोरी १० दिनदेखि सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि काठमाडौँबाट नै सम्पर्कविहीन भएकी आमा सरस्वती डोटेलले जानकारी दिएकी छिन् । भदौ ७ गते पुल्चोक इञ्जिनीयरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि अहिलेसम्म उनको केही अत्तोपत्तो नलागेपछि आफूहरु चिन्तामा डुबेको आमा सरस्वती डोटेलले दुखेसो गरिन् । सरस्वतीले भनिन् “यतिका दिन भयो जताततै खोजिरहेका छौँ र पनि यताउता कतै अत्तोपत्तो छैन, छिटोभन्दा छिटो छोरीको अत्तोपत्तो लाउन पाए हुन्थ्यो ।”

काठमाडौँबाट हराइरहेकी रेजिनाको पोखरा बागमारास्थित सेतीनदी किनार मझौरेघाटमा उनको कागजातसहितको झोला आइतबार फेला परेको बेपत्ता किशोरीका मामा दिवस भण्डारीले बताए । दिवसले भने “झोला तथा कागजात नदी किनारमा फेला परेकाले झोला भेटिएको स्थानदेखि तलतिरका ठाउँमा प्रहरी, स्थानीयवासी, परिवारजन तथा आफन्तहरुले निरन्तर खोजीकार्यलाई जारी राखेका छौँ ।” मानसिक अवस्था तन्दुरुस्त रहेकी भाञ्जीले मोबाइल तथा सामाजिक सञ्जालको प्रयोगसमेत नगर्ने गरेको दिवसले बताए । रेजिना काठमाडौँस्थित गोल्टेनगेट कलेजमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत छात्रा हुन् ।

यसैबीच आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् । पक्राउ परेका बराल विर्तामोड नगरपालिका–८ का वडासचिव हुन् । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनले घटनामा संलग्न अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिन बाँकी रहेकाले सबै कुरा भन्न नमिल्ने बताए ।

गैरकानूनीरूपमा गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानविन शुरु गरेको थियो । निलम्बनमा पर्ने कर्मचारीमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायबसुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन् । उनीहरुले ‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता दिएको आरोप छ । गैरनेपालीलाई नागरिकता दिन सिफारिश गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि समेत छानविन थालिएको बताइएको छ । प्रशासन स्रोतका अनुसार विसं २०७३ देखि २०७६ सम्ममा १६ गैरनेपालीलाई नागरिकता दिइएको छ ।

१६ गैरनेपालीलाई नागरिकता दिँदा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्रले सनाखत गराएका छन् भने नायबसुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप छ । त्यसपछि अधिकृत ढुङ्गेलले नागरिकता जारी गरेको बताइएको छ । यसरी विभिन्न समयमा १६ जनाको नागरिकता जारी गर्दा नौ जनाको बाबु एउटै कायम गरिएको छ । गृह मन्त्रालयले नक्कली नागरिकता जारी गर्ने कर्मचारीलाई निलम्बन गर्दै कर्मचारी र नागरिकताबारे थप छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जिम्मेवारी दिएको बताइएको छ ।

गैरनेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको पनि पाइएको छ । नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नागरिकता दिइएको पाइएको हो । टेकबहादुर र रिनालाई बुबाआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ छन् । उनीहरु सबैको ठेगाना झापा कायम गरिएको छ ।