दशैंको अग्रिम टिकट बुकिङ भदौ अन्तिम साताबाट

काठमाडौं : काठमाडौंबाट दशैं मनाउन घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ भदौको अन्तिम साता खुल्ने भएको छ। सरोकारवाला समूहसँग सहमति भएलगत्तै अग्रिम टिकटको बुकिङ खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ।

सरकारले यातायात व्यवसायीसँग टिकट कहिले खुल्ला गर्ने भनेर सल्लाह गरिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। दुई/चार दिनमा नै व्यवसायीसँग सहमति गरी दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने उनले बताए। उनका अनुसार २२ गते वा २३ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुला हुनेछ। केही प्राविधिक कारणले मात्र ढिला भइरहेको छ।

‘यातायात व्यवसायीसँग साधन पनि केही कमी छ भन्ने पनि सुन्नमा आएको छ। के रहेछ सरकारले बुझेर समस्याको समाधानको लागि एउटा निर्णय गरिन्छ,’ उनले भने। सरकारसँग भन्दा व्यवसायीसँग साधन भएकोले सरकारले आफ्नो खुसीले अग्रिम टिकटको बुकिङ खुल्ला गर्न नसकेको उनको भनाइ छ। व्यवसायीको कारणले नै अग्रिम टिकटको बुकिङ नखोलिएको उनले बताए।

यसपटक भाडाको वृद्बि नगरी अग्रिम टिकट बुकिङ खुला गरिने महानिर्देशक हमालले बताए। दशैंको मुखमा टिकटको मूल्य बढाउँदा यात्रुलाई मार पर्ने हुँदा यो पटक त्यस्तो नगरिने उनको भनाइ छ। यसपटक यात्रुलाई हेल्प डेस्कको लागि राजधानीका १० भन्दा बढी ठाउँमा राखिने उनले बताए।

प्रकाशित मिति September 3, 2019

प्रतिकृया दिनुहोस