नेपालगञ्जमा बुद्ध एयरको जहाजसँग बँदेल ठोक्कियो

सूचना दैनिक
बुधबार, मंसिर १८, २०७६

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौँबाट नेपालगञ्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो । जहाज ल्याण्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित शाहले बताए ।

जहाजमा ठोक्किएको बुँदेलको मृत्यु भएकोछ । जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६.२५ बजे बुद्ध एयरको जहाज नेपालगञ्जमा ल्याण्ड हुँदै थियो । त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको थियो । जहाजमा रहेका यात्रुहरु चिच्याएपनि कुनै क्षति भने भएन ।

नेपालगञ्ज विमानस्थलको आसपासमा झाडी बढेको छ । धावन मार्ग छेउमा रहेका झाडीबाट बेलाबेलामा बँदेल, दुम्सी र स्याल देखिने गरेका छन् । धावन मार्ग नजिक रहेको झाडीबाट निस्किने जंगली जनावरका कारण विमानस्थलमा सुरक्षा चुनौती थपिएको छ । यसअघि धेरै पटक विमानस्थल ल्याण्ड गर्ने क्रममा जंगली जनावर रनवे आसपासमा देखिदा केहीबेर जहाजलाई आकाशमै उडाई सुरक्षाकर्मीले जंगली जनावरलाई लखेट्ने गरेका थिए ।

विमानस्थलको धावन मार्गमा ओभर–ले (पिचमाथि कालोपत्रको तह थप्ने), आसपासको झाडी सफा गर्ने र नाली निर्माण गर्ने ठेक्का पप्पु लुम्बिनी एपेक्स जेभीले ठेक्का लिएपनि काम नगर्दा विमानस्थलमा जंगली जनावरले सुरक्षा चुनौती बढाएको छ । यी कामहरु २०७४ माघ २ गतेसम्म पुरा गर्नु पर्ने भए पनि धावन मार्गको ओभर–ले गर्ने बाहेक झाडी सफा गर्ने, नाली निर्माण गर्ने काम गरेको छैन ।

विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, पप्पु लुम्बिनी एपेक्स जेभीले २०७३ साल पुस १७ गते बिमानस्थलको धावनमार्गमा ओभर–ले, विमानस्थल क्षेत्रमा रहेको झाडी सफा गर्ने, नाली निर्माण गर्ने ठेक्का पाएको थियो । करिब १३ करोडको लागतमा २०७४ माघ २ गतेसम्म सम्पन्न पुरा गर्ने गरी ठेक्का लिएको पप्पु लुम्बिनी एपेक्स जेभीले करिब ७० प्रतिशत काम गरेर बाँकी काम २ बर्षदेखि अलपत्र पारेको छ ।