१३ औं साग फुटबल : बंगलादेशलाई हराउँदै नेपाल उपाधिको रक्षा गर्न फाइनलमा प्रवेश

सूचना दैनिक
आइतवार, मंसिर २२, २०७६

काठमाडौं, २२ मंसिर । डिफेन्डिङ च्याम्पियन नेपाल पुनः साग फुटबलको उपाधि जोगाउने लक्ष्यका साथ फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको राउण्ड रोविनको अन्तिम खेलमा बंगलादेशलाई संघर्षपूर्ण खेलमा १÷० ले पराजित गर्दै नेपालमा भूटानविरुद्ध फाइनलमा प्रवेश गरेको हो ।

नेपालका लागि सुनिल बलले खेलको १० औं मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो । कप्तान सुजल श्रेष्ठको पासमा भएको यो गोल नेपालका लागि फाइनलमा स्थान बनाउन काफी बन्यो ।

त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा उपस्थित र टेलिभिजनमा प्रत्यक्ष हेरिरहेका हजारौं दर्शकको मुहारमा मुस्कान छर्दै फाइनलमा प्रवेश गरेको नेपालले अब उपाधि जोगाउन पर्सि मंगलबार फाइनलमा भूटानसंग भिड्नेछ । फाइनल खेल मंगलबार अपरान्ह ३ बजे हुनेछ ।

भूटानलाई नेपालले यसअघि आफ्नो पहिलो खेलमा ४-० को अन्तरले पराजित गरेको थियो । यो जितसंग नेपाल कुल १० अंक लिएर शीर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाएको हो भने भूटानले ९ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो ।

घरेलु दर्शकको हौसलाका अघि उत्साहित भएर खेल्नु पर्ने नेपाली टोली जहिले पनि दबाबमा आएर खेल्ने पुरानो प्रवृतिका कारण खेलमा दमदार प्रदर्शन गर्न भने सकेन ।

नेपालले यस अघि सागको पछिल्लो अर्थात १२ औं दक्षिण एसियाली खेलकुदमा पनि फुटबलतर्फ स्वर्ण पदक जितेको थियो । त्यसबखत नेपालले आयोजक भारतलाई २-१ पराजित गरेको थियो ।

नेपालका लागि त्यस खेलमा पनि अहिले कप्तानी गरिरहेका सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।
तस्वीर : महेश्वर केसी