लिपुलेक अन्तर्राष्ट्रियकरण नगर्ने शर्तमा भारतले प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ : बिजुक्छे

सूचना दैनिक
सोमवार, मंसिर २३, २०७६

काठमाडौं : मंसिर २१, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने ओलीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। भारतले ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीमा जुटेको समेत उनले दाबी गरे।

यसको लागि प्रचण्डले पनि लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न हुन्न भनेर ‘प्रभु भक्ति’ गरिसकेको अध्यक्ष बिजुक्छेको तर्क छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजको १८ औं र ख्वप कलेज अफ इञ्जिनियरिङको ११ औं वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले उक्त तर्क गरेका हुन्।

कूटनीतिक वार्ता गर्दा हिजो सुस्तामा आधा भूभाग गुमाउनुपरे जस्तै अहिले प्रचण्डले प्रधानमन्त्री पाउँदा लिम्पियाधुरा र कालापानी पनि नेपालले आधामात्रै पाउने सम्भावना रहेको उनले स्पष्ट पारे। अध्यक्ष बिजुक्छले सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान ढिलाइ भइरहेको भन्दै सरकारको कडा आलोचना गरे। सीमा अतिक्रमण मुद्दामा कूटनैतिक वार्ता भन्ने नै नहुने उनको जिकिर थियो।