बुधवारबाट देशभर चिसो बढ्ने, सचेत रहन आग्रह

सूचना दैनिक
मङ्लबार, मंसिर २४, २०७६

जल तथा मौसम विज्ञान विभागले बुधबारबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको छ। यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने विभागले जनाएको छ ।

विभागले भनेको छ ‘ यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ। यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ।’

बुधबार बाट शुरू भई यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने विभागले जनाएको छ । विभागले उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरेको छ।