नायिका मनिषा कोइरालाको आमाबाबुको वैवाहिक वर्षगाँठमा पूर्वयुवराज्ञी हिमानी शाह

सूचना दैनिक
शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं । पछिल्लो समय पूर्वयुवराज्ञी हिमानी शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेकी छन् । हिमानी ट्रस्टकी अध्यक्षसमेत रहेकी हिमानी आफैं पत्रकार सम्मेलनसमेत गर्छिन् भने सामाजिक गतिविधिमा सहभागी हुने गरेकी छन् ।

यसैक्रममा उनी बिहीबार साँझ नायिका मनिषा कोइरालाका आमाबाबुको वैवाहिक वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा हिमानी शाह पुगेकी छन् । प्रसिद्ध राजनेता बीपी कोइरालाका ज्येष्ठ पुत्र प्रकाश र धर्मपत्नी सुष्माले विवाहको आधा शताब्दी उत्सव भव्य जमघटबीच मनाएका थिए ।

कोइराला दम्पतीले वैवाहिक जीवन सुरु गरेको बिहीबार पचास वर्ष सुरु भएको थियो । सो अवसरमा आफ्ना मातापिताको विवाह वर्षगाँठ मनाउन छोरी मनिषा र छोरा सिद्धार्थले होटल शंकरमा चियापानको आयोजना गरेका थिए । कोइराला दम्पतीको एनिभर्सरीमा पूर्वयुवराज्ञी हिमानी शाह पूर्वराजा ज्ञानेन्द्र शाहको बधाई र शुभकामना लिएर पुगेकी थिइन् । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला दम्पती र केन्द्रीय सदस्य शेखर कोइराला तथा भारतीय राजदूत मञ्जीवसिंह पुरी दम्पतीसहित पुगेका थिए ।

तस्बिर मृदुला कोइरालाको फेसबुकबाट