‘गौरिकाको लागि कम्तीमा मासिक २ हजार डलर खर्च लाग्छ’

दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करण गत मंगलबार सम्पन्न भयो । काठमाडौँ, पोखरा र जनकपुरमा २८ खेलको प्रतिस्पर्धा भयो । जसमा नेपाल ऐतिहासिक ५१ स्वर्ण सहित ६० रजत र ९५ कांस्यहित २०६ पदक जितेर पदक तालिकाको दोस्रो स्थानमा रह्यो ।

यो संस्करणको सागमा नेपालकी गौरिका सिंह सर्वाधिक चर्चामा रहिन् । उनले व्यक्तिगत विधातर्फको स्विमिङमा ४ वटा स्वर्ण जितेर इतिहासमा नाम लेखाइन् । नेपालको लागि सागमा ४ स्वर्ण जित्ने खेलाडी तेक्वान्दोको दीपक विष्ट हुन् तर,

गौरकाले भने १७ वर्षकै उमेरमै एउटैसंस्करणमा चार स्वर्ण कसरी जितिन् भन्नेबारेमा कान्तिपुर टेलिभिजनको लागि सबिना कार्कीले गौरिकाको सफलतामा पूर्ण साथ दिने उनकी आमा गरिमा राणासँग गरको कुराकानीको सारः

छोरीको सफलतामा आमाको अनुभव

आफ्नो छोरीले सागमा ४ वटा स्वर्ण पदक ल्याउनु सपनाजस्तै लागिरहेको छ । गौरीकाको सफलतामा हामी निकै खुसी छौं । उनले गरेको मेहनत हामीले मात्रै देखेका छौं । तपाईहरुले त नतिजा मात्रै देख्नु भएको हो । उसले दैनिक रुपमा मेहनत गरेकी छिन् त्यो धेरैले देख्न पाउँदैन । त्यो सम्झेर अझ बढी खुसी लाग्छ ।

गौरिकाको दैनिकी

गौरीका हाल नयाँ क्लबबाट ट्रेनिङ लिइरहेकी छिन् । उनको स्विमिङ अझै राम्रो होस् भनेर नयाँ ठाउँमा सारिएको हो । उनले नयाँ स्कुलबाट ए लेभल गरिहेकी छिन् । उसको खेलकूद तथा समयलाई ख्याल गर्दै स्कुल छानिएको हो । गौरिकाले हप्तामा ९ वटा ट्रेनिङ गर्छिन् ।

आइतबार उनी पूरा दिन आराम गर्छिन् । यदी बिहानको ट्रेनिङ छ भने बिहान ५ बजे पुलसाइडमा पुग्नुपर्छ । हामी बिहानको साढे ४ बजे उठ्छौं । गौरिका भन्दा म चाँडै उठेर खाना बनाइदिने गरेको छु । बिहान २ घण्टाको स्विमिङपछि गौरिका सिधै कलेज जाने भएकोले ब्रेकफास्ट पनि

पहिला नै तयार गर्नुपर्छ । गौरिकाले २ घण्टा अभ्यास गरुन्जेल म गाडीमा कुरिरहन्छु । त्यसपछि उसलाई खाना खान दिएर स्कुलमा छोडिदिन्छु । स्कुलमा लन्चको सुविधा नभएको कारणले गर्दा म घर गएर विशेष खालको (पोषणयुक्त) लन्च बनाइदिन्छु र पुनः लगेर छोडिदिन्छु । पुनः बेलुका उनलाई लिएर आउँछु ।

त्यसपछि उसले पास्ता लगायतको खाना खान्छ । मेरो छोरा पनि छ उ पनि स्विमिङ खेल्छ । उसलाई सँधै पुर्याउन नसकिने भएको कारणले गर्दा उ आफै लण्डनको लोकल बस चढेर जान्छ । ट्रेनिङपछि खाना सँधै ठिक अवस्थामा बनाएर राख्नुपर्छ । यसमा मेरो काम भनेको पकाउने, पुर्याउने, ल्याउने यस्तै छ ।

आफ्नो जीवन नै गौरिकाको लागि !

म यसलाई समपर्णको रुपमा लिन्न । मेरो छोराले पनि स्विमिङ गर्ने भएकोले दुवैलाई बराबर समय दिने प्रयास मेरो छ । एउटाले मेडल पायो भन्दैमा अर्कोलाई हेला गर्न भएन । मेरो छोरा र छोरीको उमेर ६ वर्षले फरक छ । छोराले पनि स्विमिङमा राम्रो गर्दैछ । उसले गौरिकाबाट प्रेरणा लिइरहेको छ ।

मै मेरो बच्चाहरुलाई जे गरिरहेको छु यसैमा खुसी छु । म अभिभावक भएको कारणले गर्दा यो मेरो कर्तव्य हो । मलाई लाग्छ यसै अभिभावकहरुले यसै गर्छन् होला । फरक यति मात्रै होला उ सँग केही बढी क्षमता थियो होला र नतिजा ल्याउन सक्यो ।

घरमा गौरिका कस्तो ?

उसले घरमा धेरै बस्ने फुर्सद नै पाउँदैन । धेरै सुत्छ तर, पढ्छ । उ कुराहरुमा दृढ छ । उसको खाने, सुत्ने तालिका एकनासको छ । घरमा हुँदा साथीहरुसँग समय बिताउने गर्छ । हामीहरु पनि सँगै बसेर टिभी हेर्छौं, खान्छौं । उसको साथीहरु यही स्विमिङ क्लबकै छन् । उनीहरु स्विमिङ सकेपछि केही बेर बाहिर खान जान्छन् होला तर, सुत्नु नै उसको प्राथमिकतामा पर्छ ।

गौरिका कसरी स्विमर ?

लण्डनतिर हरेक स्कुलमा बच्चाहरुलाई स्विमिङ अनिवार्य नै हुन्छ । किनकी यो ‘लाइफ स्किल’ हो । सुरुमा उसले हप्तामा दुई पटक स्विमिङ गर्थ्यो । पछि आफ्नो प्रगति देखेर खुसी हुँदै बढी गर्न थाल्यो । स्थानीय प्रतियोगितामा जित्न थालेपछि उ यस क्षेत्रमा अघि बढेको हो । यो उसकै चाहना हो । यदी भोलि यसले गदिर्न भनेको खण्डमा हामी रोक्न सक्दैनौं ।

नेपाली होइन !

यो मिडियामा नै आएको कुरा हो । कति बाधा आयो, कति मानिसले उसको यात्रालाई रोक्ने प्रयास गरे । मलाई एउटा कुरामा साह्रै चित्त दुख्छ कसैले लेखेको पत्रमा भनिएको थियो ‘उ किरा फट्याङ्ग्राजस्तै आउँछ फुत्रुक जान्छ, मजा लिन्छन्’ भनेर यो निकै अनुचित कुरा हो । उसले

मजा मात्रै लिन चाहेको, फाइदा मात्रै लिन चाहेको भए उसले ओलम्पिकपछि सन्यास नै लिन्थ्यो होला । यदि दुख कसैले गर्दैनथ्यो होला । उसको मुख्य धेय नै नै देशको लागि केही गरौं भन्ने छ । सागमा मेडल जित्नु पनि थियो । त्यो आ रोप अत्यान्त झुटो हो । आफ्नो छोरीलाई त्यसो भन्दा चित्त दुख्छ ।

ओलम्पिक खेलेपछि पनि आ रोप !

उसको नेपाली पासपोर्ट छ । नागरिकता पनि छ । हामी बेलायतामा बासिरहेको चाँही मेरो श्रीमान्को ‘इडेफिनेट लिभ टु स्टे’ भन्ने भिसाको कारण हो । सबैलाई थाहा छ कुनै पनि नेपाली नागरिकले दुई देशको पासपोर्ट बोक्न पाउँदैन । हामी १० वर्षअघि नै बेलायती पासपोर्टको लागि योग्य त

भइसक्यौं तर, हामीले लिएका छैनौं । किनकी हाम्रो नियम अनुसार दुई देशको पासपोर्ट बोक्न पाइदैन । हामीसँग नेपाली पासपोर्ट छ तर, कसलाई देखाउँ म यो ‘इडेफिनेट लिभ टु स्टे’ भिसा छ भनेर । हामीले अन्य देशको पासपोर्ट बोकेका छैनौं ।

गौरिकाको लागि खर्च कति ?

मोटामोटी रुपले हेर्ने हो भने उसको स्विमिङ ट्रेनिङ, ट्राभल, लुगा कपडा, पर्सनल ट्रेनर (हप्ताको दुई पटक), फिजियो थेरापिस्ट, पर्सनल स्विमिङ कोच, स्थानीय प्रतिस्पर्धामा भाग लिन जाँदा आउने खर्च, खानाको कुरै छोडौं यो विशेष डाइटबाहेक कम्तीमा मासिक २ हजार डलर खर्च लाग्छ ।नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अहिले महिनाको ५०० डलर जति दिनुहुन्छ यो राम्रो कुरा हो तर, त्यति खर्चले पुग्दैन ।

बेलायत कहिले फर्कने ?

मेरो श्रीमान केही दिनमै फर्कनुहुन्छ । गौरिका २ हप्ताको बिदामा आएकी हुन् । उनले छुटाएको पढाईलाई उसले पढ्नुपर्छ । उसको फर्मलाई कायम राख्नको लागि उसले यही नै स्विमिङ गर्दैछिन् ।

प्रकाशित मिति December 13, 2019

प्रतिकृया दिनुहोस