सुमो दुर्घटनाको दर्द : श्रीमान-श्रीमतिको एउटै चितामा गरियो दाहसंस्कार

सूचना दैनिक
सोमवार, पुस १४, २०७६

रौतहट, १३ पुष । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३ ओखरेडा नजिक दुर्घटना हुँदा ज्यान गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति सृजना विकको शनिबार राति एउटै चितामा दाहसंस्कार गरिएको छ ।

ती दम्पत्तिलाई बागमती नदीको किनारमा एउटै चितामा दाहसंस्कार गरिएको हो । उनीहरुको गत फागुन १० गते विवाह सम्पन्न भएको थियो । विवाह गरेको १० महिना पूरा भएकै भोलिपल्ट दुबैले ज्यान गुमाएका हुन् ।

स्थानीय माउन्ट एभरेष्ट आवाशीय माविमा शिक्षकको रुपमा कार्यरत विक श्रीमति सृजनाको उपचारको लागि भनेर विद्यालयबाट एकदिनको विदा लिएर सुमो चढेर काठमाडौँ गएका थिए । विक परिवारका अनुसार सृजना गर्भवती थिइन ।

‘शुक्रबार गएर शनिबार बेलुकी फर्केर आइतबारदेखि विद्यालय आउँछु भनेर विदा लिएर गएको थियो मनिष’ विद्यालयका संस्थापक उमेश बास्कोटाले भन्नुभयो, ‘तर दैवको लीला कहिले नफर्कने गरी गयो ।’

२१ वर्षीय विकले स्कुलको पढाई पनि सोही विद्यालयबाट पूरा गरेका थिए । सानैदेखि मेहनती, मृदुभाषी र सहयोगी स्वभावका विकको मृत्युले सबैमा ठूलो चोट परेको विद्यालयका शैक्षिक संयोजक अच्युत हुमागाई बताउनु हुन्छ ।

‘आजसम्म मैले मनिषलाई रिसाएको देखेको थिइन्, हुमागाई स्मरण गर्नुहुन्छ, ‘छोटो आयुको रहेछ सबैलाई मोहनी लगाएर गयो ।’ आफ्नो प्रिय सर गुमाउनु पर्दा विद्यार्थीहरुको पनि आँखा रसाएका छन् ।

सो दुर्घटना परेर विक दम्पति सहित ५ जनाको मृत्यु भएको थियो । चन्द्रनिगापुरबाट काठमाडौ तर्फ जाँदै गरेको ना १ ज ३४३३ नं को शिखरापुर टाटा सुमो सडकबाट अन्दाजी ४०० मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना परी मृत्यु हुनेहरूमा केदारनाथ तिमलसिना, नेत्रमान रुसाल र उहाँकी श्रीमती भक्त कुमारी रुसाल रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृतक रुसेल सिन्धुली दुधौली नगरपालिका–८ निवासी हुन् । उनीहरु मृतक मनिष विकका सानीआमा र सानुबुबा हुन् ।

उहाँहरुको मृत्युपछि सिंगो चन्द्रपुर नगरपालिका शोकमग्न भएको छ । शिक्षक विकको निधनप्रति समवेदनामा प्रकट गर्दै चन्द्रपुर प्याव्सन नगर कमिटीद्वारा आइतबार संगठनमा आवद्व विद्यालयहरूमा विदा दिएको छ ।