चिसोले कठ्यांग्रियाे मध्य तराई, धनुषा र बारामा एक-एक जनाकाे मृत्यु

सूचना दैनिक
सोमवार, पुस १४, २०७६

जनकपुरधाम । अत्याधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईको धनुषामा १ जनाको मृत्यु भएको छ । चिसोको कारण जनकपुरधाम उपमहानगरपालिका– २३ बस्ने ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको हाे ।

जाड़ोकै कारण ज्यान जान थालेपछि लिएर स्थानीय सरकार र प्रदेश- २ सरकारले आफ्नो जिम्मेवारी ईमानदारीसाथ पूरा नगरेको स्थानीयकाे गुनासाे छ ।

file photo
उता अत्याधिक चिसोका कारण कठ्यांग्रिएर बाराको जीतपुरसिमरा उपमहानगरपालिका- २३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइल मेहा मन्सुलीको पनि मृत्यु भएको छ ।

दुई सातादेखि घाम नलागेका कारण मध्य तराईको धनुषा, महोत्तरी, सिरहा , सप्तरी, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा अत्याधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ ।

चिसोका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहल कम देखिएकाे छ । विशेषगरी बालबालिका र वृद्धवृद्धाहरु चिसोबाट बढी प्रभावित छन् ।

धनुषामा स्थानीय प्रहरी र सामाजिक संस्थाहरुले दाउरा तथा कम्बलहरु वितरण गरेका भए पनि सरकारी पक्षबाट खासै न्यानोको पहल देखिएको छैन ।