राजधानीमा घामपानी, भोलि र पर्सि पनि वर्षा हुने सम्भावना

सूचना दैनिक
बिहिबार, पुस १७, २०७६

पश्चिमी वायुको प्रभावले बिहीबार राजधानी काठमाडौंलगायत देशका पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ।

राजधानीमा केहीबेर पानी पर्ने र घाम लाग्ने भइरहेको छ।

पानी परेसँगै चिसो अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन्।

उनका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको पनि सम्भावना छ।

बिहीबार राति पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

शुक्रबार र शनिबार पनि पानी पर्न सक्ने मौसमविद् शाक्यले बताएकी छन्।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान:

पौष १७ गते (बिहीबार)

दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको देखिन्छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ।

पौष १८ गते (शुक्रबार)

दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

पौष १९ गते (शनिबार)

दिउँसो :देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भु-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।