हिउँले छपक्‍कै ढाक्यो मुक्तिनाथ

सूचना दैनिक
शुक्रबार, पुस १८, २०७६

जोमासोम। मुस्ताङको मुक्तिनाथ मन्दिर हिमपातले सेताम्मे भएको छ। बिहीबार दिउँसोदेखि निरन्तर परेको बाक्लो हिउँले मुक्तिनाथ क्षेत्र र रानीपौवा बजार चाँदी झै छपक्‍कै ढाकिएको हो।

हिउँले मुक्तिनाथ मन्दिरको छानो र भित्रि प्रवेशद्वार ढाकिएको छ भने मन्दिर परिसरको कुण्ड ,१०८ धारा र आसपासमा पुरै बाक्लो हिउँ जमेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए ।

हिउँ परेसँगै मुक्तिनाथ दर्शन गर्न आएका तिर्थालुलाई सकस परेको छ भने १०८ धाराको स्नान गर्ने ठाउँ र त्यहाँ रहेको २ वटा स्नान कुण्डको पानी समेत जमेको कर्मचारी सुवेदीले बताए । चिसोले कुण्ड जमेको र परिसरक्षेत्रमा हिउँ जमेकाले तिर्थालुहरु स्नान गर्न समेत सकेका छैनन् ।

हिउँ परेसँगै मुक्तिानाथ क्षेत्रमा अत्यधिक जाडो बढेको छ भने पर्यटक र स्थानीय घर बाहिर आउजाउ गर्न समेत नसकेको झारकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब तारानाथ अधिकारीले जानकारी दिए ।

बिहीबारदेखि हिउँ परेपनि शुक्रबार बिहान हिउँ रोकिए पनि पुन: पर्ने सम्भावना बढी रहेको बताए । हिउँले रानीपौवा बजार बाहिर रहेको मुक्तिनाथ बसपार्क र रानीपौवा बजार हुँदै मुक्तिनाथ जाने पैदलमार्ग छोपिएको छ।

यस्तै रानी बजारका फुटपाथ व्यापारी हिउँ पन्छ्याउन जुटेका छन् । चिसोले होटल र घरका धारा ,सेफ्टी ट्याङ्की जमेको उनको भनाई छ । यस्तै चिसोले पशुचौपाया लगायतलाई समेत परेको छ ।

हिउँदयामको चिसो मौसम भएपनि मुक्तिनाथका अधिकांश होटल संञ्चालनमा रहेको अहेब अधिकारीले जानकारी दिए। हिमपातले जोमसोम/ मुक्तिनाथ सडक अवरुङ भएको जनाइएको छ।