मौसममा सुधार हुँदै, नयाँ वायुप्रणालीका कारण मंगलबारबाट फेरि हिमपात र वर्षा हुन सक्ने

सूचना दैनिक
आइतवार, पुस २०, २०७६

काठमाडाैँ, २० पुष । लगातार तीन दिनदेखि खराब भएको मौसममा आजबाट सुधार आउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बुधबारबाट सक्रिय भएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले मौसममा सुधार हुने भएको हो ।

महाशाखाका अनुसार आज र भोलि मौसम सफा रहनेछ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसोको अधिकतम् तापक्रम १३ देखि १५ डिग्री सेल्सियसबीच रहनेछ ।

तर, देशको पश्चिमी क्षेत्रबाट अर्को वायुप्रणाली प्रवेश गर्ने भएकाले मंगलबारदेखि पुनः हिमपात र वर्षाको सम्भावना छ ।

यससँगै तराईका केही स्थानमा लागेको हुस्सु/कुहिरो साँझसम्म विस्तारै हटेर जाने र कुहिरो लागेको स्थाहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसो नै रहने महाशाखाले जनाएकाे छ । चिसोबाट बच्ने उपायहरु अपनाउन र यात्रामा पर्न सक्ने जोखिमका साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन समेत महाशाखाले अनुराेध गरेकाे छ ।