एजेसी । सन् २०१७ की मिस वर्ल्ड विजेता भारतीय मोडल मानुषी छिल्लरले बलिउडमा डेब्यू गर्ने भएकी छन् । उनले अभिनेता अक्षयकुमारको अपोजिटमा फिल्म ‘पृथ्वीराज’ मा खेल्दै नायिकाका रूपमा डेब्यू गर्न लागेकी हुन् । यशराज फिल्मस्को ब्यानरमा बन्न लागेको उक्त ऐतिहासिक फिल्म आफ्ना लागि ठूलो सिकाइ हुन सक्ने आशाराख्दै मानुषीले भनिन्, ‘म यति बेला हिन्दी फिल्मको नायिका बन्ने प्रक्रियामा रमाउन चाहन्छु । र, सँगसँगै यो सिकाइको प्रक्रिया पनि हो । किनभने मलाई धेरै टाढासम्म हिँड्नु छ ।’
उनले नायिका बन्न धेरै काम गर्नुपर्ने धारणा राख्दै थपिन्, ‘यो रचनात्मक हिसाबले अत्यन्तै आनन्ददायी काम पनि हो । अझ यशराजजस्तो ठूलो ब्यानरले ममाथि राखेको विश्वास र भरोसाका कारण पनि कडा मिहिनेत गर्नु जरुरत छ । किनभने यशराजकै यस वर्षको सर्वाधिक ठूलो र आशा गरिएको यो फिल्ममा म आफैं पनि सदस्य बन्न पाएकी छु ।’
२२ वर्षे पूर्व मिस वर्ल्ड मानुषीले आफूले पाएको यस मौकालाई प्रमाणित गर्न चाहेको बताउँदै आफ्नो डेब्यूलाई सर्वाधिक पर्खाइको विषय बनाउन चाहेको सुनाइन् । शक्तिशाली र निडर राजा पृथ्वीराज चौहानको नायकत्वमा बन्न लागेको उक्त फिल्मको शीर्ष भूमिकामा अक्षयकुमार देखिने बताइएको छ भने मानुषीले राजाकी प्रेमिका संयोगिताको भूमिका निर्वाह गर्न लागेकी हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
मानुषीले बिग ब्यानरको फिल्ममा काम गर्नु आफ्ना लागि सिक्ने मौका हुने बताउँदै अहिलेका समकालीन नायकहरूमा सर्वाधिक सफल सुपरस्टारमध्येका एक अक्षयसँग काम गर्न पाउनु न्युकमर एक्टरका लागि ठूलो मौका रहेको टिप्पणी गरिन् । उनले भनिन्, ‘अक्षयकुमार अभिनीत फिल्मको एउटा हिस्सा हुन पाउनु मेरा लागि ठूलो सम्मान हो भन्ने ठान्छु । पृथ्वीराज मेरा लागि धेरै सिक्ने अवसर हुनेछ । र, सेटका हरेक दिन मेरा लागि निकै रमाइलो हुने ठानेकी छु ।’
मानुषीले फिल्म क्षेत्रमा आफू भनेको मिठाई दोकानमा भएकी बच्चीजस्तै भएको उदाहरण दिँदै यसबेला आफूलाई दिइएको हरेक सेकेन्डमा फिल्म निर्माण र अभिनयका हरेक नयाँ तरिकालाई एकैपटक चाख्न चाहेको बताइन् । ‘पृथ्वीराज’ लाई डा। चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्नेछन्, जसले यसअघि टेलिभिजन शृंखला ‘चाणक्य’ निर्देशन गरेका थिए ।
प्रकाशित मिति January 21, 2020