गायिका आस्था राउतलाई प्रहरीले पक्राउ नगर्ने , भयो यस्तो सहमति…

८ माघ २०७६, बुधबार काठमाडाैं- गायिका आस्था राउतलाई नेपाल आए लगत्तै प्रहरीले पक्राउ नगर्ने भएकाे छ । आस्था नेपाल फर्किए लगत्तै कार्यालयमा हाजिर गराउन परिवार सहमत भएपछि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको हाे।आस्था कार्यक्रममा सहभागी हुन नेपाल बाहिर छिन्। उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिए पनि परिवारले आफै कार्यालयमा ल्याउने वचन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारी पक्राउ नगरी पहिला छलफल गर्ने निष्कर्षमा पुगेका हुन्।

‘उनको परिवारले कार्यालयमा ल्याउँछु भबन्नुभएको छ,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने, ‘कार्यालयमा आएपछि छलफलपछि आवश्यक प्रक्रिया अगाडि बढाउँछौ।’ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच विवाद भएपछि प्रहरीले उनलाई दुर्व्यवहारको आरोपमा कारवाही अगाडि बढाउने तयारी गरेको हो। दुर्व्यवहारमा पक्राउको तयारीबारे आलोचना बढेपछि प्रहरी प्रारम्भमा छलफलबाट समाधान निकाल्ने तयारीमा लागेको छ। गत १ माघमा विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका राउत प्रहरी जवान रमिता श्रेष्ठबीच विवाद भएको थियो ।

राउतले आफुलाई दुव्र्यवहार भएको भनेर फेसबुकमा राखेपछि प्रहरीले सिसिटिभी फुटेज सार्वजनिक ग¥यो । जसमा गायिका राउतले चेकिङमा असहयोग गरेको देखिन्छ ।गायिका राउतले फेसबुक लाइभमार्फत प्रहरीको आलोचना गरेपछि जवान श्रेष्ठलाई उजुरी हाल्न लगाएर पक्राउ पूर्जी जारी गराएको थियो । सामान्य विषयमा प्रहरीले फौजदारी मुद्दा चलाउन लागेको भन्दै प्रहरीको आलोचना भएको थियो । कलाकारहरु समेत प्रहरीको विरुद्धमा उत्रिएका थिए । त्यसपछि प्रहरी सहमतितर्फ अघि बढेको हो । प्रहरीमा जाहेरी दर्ता भएपनि सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गर्न सक्ने प्रावधान छ ।

यो घटना मेट्रोको नेतृत्व क्षमतासँग जोडिएको एक प्रहरी अधिकारी बताउँछन् । ‘यो विषय पहिले नै मिलापत्र भइसक्नुपर्ने कुरा हो,’ एक प्रहरी अधिकारी भन्छन्,‘हाकिमहरु सिपाहीको हितमा रहेको देखाउन खोज्दा प्रहरी झन् विवादमा फस्यो, नेतृत्वले सही निर्णय गर्न नसक्दाको परिणाम हो यो ।’ प्रहरीलाई आलोचना गर्नेलाई कारबाही गरेर नभई सेवा सुविधा बढाएर सिपाहीहरुको मनोबल बढाउनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति January 22, 2020

प्रतिकृया दिनुहोस