पूर्व मन्त्री विष्टको निधन,जीवनको अन्तिम समयसम्म पनि देशकै चिन्ता

सूचना दैनिक
शनिबार, माघ ११, २०७६

पूर्व सहायक गृह मन्त्री टङ्क बहादुर विष्टको ९८ वर्षको उमेरमा निधन भएको छ । विष्टको बुधबार बुटवलमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । विष्टको विहीबार झिमरुक नदिमा श्रदाञ्जली सहित अन्तिम संस्कार गरियो ।

पञ्चायतकालमा सहायक गृह मन्त्री बनेपनि विष्ट जिल्लामा अग्रणी सामाजिक व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । त्यतिमात्र होइन विष्टले जीवनभर समाज र देशको राजनीतिक अवस्थाबारे चासो र चिन्ता व्यक्त गरिरहनुभयो ।

पछिल्लो विरामी भएर आराम गरिरहनुभएका विष्टले आफ्नो स्वास्थ्य भन्दा पनि देशको चिन्ता गरिरहनुभयो । देशको अवस्थाबारे सोधखोज गरिरहनुहुन्थ्यो, विष्टले अन्तिम समयमा पनि देशप्रतिको चिन्ता र चासो थियो ।

पछिल्लो समय स्वास्थ्य अवस्थाबारे बुझ्न र भेट्न पुग्ने व्यक्ति तथा आफन्तसँग विष्टले जहिल्यै देशको अवस्थाबारे सोधखोज गर्नुहुन्थ्यो । पछिल्लो समय सभामुख निर्वाचन प्रक्रियाबारे उहाँले सोधखोज गर्नुभयो । विष्टलाई भेट्न पुग्ने व्यक्तिले पनि जिल्ला र देशको नयाँ खवर सुनाइरहन्थे ।

विष्टले जहिल्यै स्वार्थ रहित राजनीति गर्नुपर्नेमा जोड दिदै आउनुभएको थियो । इमान्दारीता र निष्ठाको राजनीति हुनुपर्ने उहाँको भनाई थियो । उहाँले जहिल्यै सकारात्मक कुरा गर्नुहुन्थ्यो, उहाँको अनुसार नेता भनेको जनताको आशा र भरोसाको केन्द्र हुनुपर्छ ।

विष्ट पञ्चायतकालमा(२०४० देखी २०४३ सम्म) गृह सहायक मन्त्री बन्नुभएको हो । उहाँले आग्रह पुर्वाग्रह विना जिल्लाको विकासका लागि काम गरेको स्थानीय बताउँछन् । विष्ट सरल, इमान्दार, ढाँट छल नभएको नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।

जिल्ला अस्पताल स्थापना लगायतका विभिन्न विकास निर्माणमा विष्टको योगदान रहेको छ । बिष्ट पंचायतका बेला एउटा छुट्टै पहिचान भएको राष्ट्रबादी नेताको रूपमा परीचित ब्यक्तित्व हुनुहुन्थ्यो ।

उहाँ तत्कालीन समयका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले समेत सम्मान गर्ने एकमात्र नेता भएको तत्कालीन समयका जानकारहरुले बताउनुभयो । उहाँले सधै राष्ट्र र जन्ताको बिषयमा मात्र चिन्ता गर्नुहुन्थ्यो,कमाउने धन्दामा लागेका अहिलेका नेताहरूलाई देख्दा उहाँलाई सधै पीडा हुन्थ्यो ।

उहाँका ४ छोरा मध्ये ३ छोरा हुनुहुन्छ भने, १ छोरी हुनुहुन्छ । अहिले उहाँका ३ छोराहरु माईला, साईला र कान्छा छोरा बुवाको प्युठान घरमा किरिया गरिरहनु भएको छ भने छोरी करुणा शर्मा लगायत छोरी ज्वाइँ देबिराम शर्मा राष्ट्रिय अनुसन्धान बिभागका पुर्ब आई.जि.पी.समेत अहिले उहाँ कै निवास प्युठानमा हुनुहुन्छ ।

यस्ता राष्ट्रवादी नेताको स्वर्गमा बास होस शोक सन्तप्त परिवारजनमा श्री पशुपतिनाथले धैर्यधारण गर्न सक्ने क्षमता प्रदान गरुन् ।