खैरहनीका वडा सदस्य सुवेदीको निधन, शोकमा नगरपालिका बन्द

चितवन, १२ माघ । खैरहनी नगरपालिका वडा नम्वर ३ का वडा सदस्य तोयानाथ सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सुवेदीको शनिबार अपरान्ह निधन भएको वडा अध्यक्ष पूर्ण बहादुर गुरुङले बताए । उनको आफ्नै निवासमा निधन भएको हो ।

वडा सदस्य सुवेदीको निधनमा आइतबार एक दिन खैरहनी नगरपालिका र नगरपालिका अन्तर्गत सवै वडा कार्यालयको सेवा बन्द गरिएको छ । आइतबार बिहान खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीको अध्यक्षतामा वसेको कार्यपालिकाको आकस्मिक वैठकले एक दिन कार्यालय र यस अन्तर्गतका वडा कार्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले जानकारी दिए ।

नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिकाले क्षमा पनि मागेको छ । साथै खैरहनी ३ को वडा कार्यालयमा ३ दिन राष्ट्रिय झन्डा आधा झुकाउने समेत निर्णय भएको छ ।

यसैबीच खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले शोक वक्तव्य जारी गर्दै वडा सदस्य सुवेदीको निधन प्रति समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति January 26, 2020

प्रतिकृया दिनुहोस