विश्वमा हिन्दुत्व : श्रीस्वस्थानीमा पिएचडी गरेकी अमेरिकन भन्छिन् विश्वकै उत्कृष्ट हिन्दु

सूचना दैनिक
सोमवार, माघ २०, २०७६

काठमाडौ । अमेरिकाको युनिभर्सिटी अफ ईलिनोयसका सह–प्राध्यापक जेसिका वान्थाईन (वानोद वान्थाईन) र केरोन वान्थाईन (छोरी) ले दक्षिण एशियाका महिलाहरुको परम्परा अन्तर्गत श्रीस्वस्थानी ब्रतकथामा विद्यावारिधी (पिएचडी) गरेकी छन् । उनले स्वस्थानीब्रत दक्षिण एशियाकै उत्कृष्ट पुजा भनी, प्रशंसासमेत गरेकी छन् ।

श्रीस्वस्थानीको पुस्तक ४ सय ४७ वर्षअघि (नेपालसम्वत् ६९३) मा लेखिएको बताएकी छन् । उनले अमेरिकाकै सिकागो विश्वविद्यालयबाट सन् २०१० मा विद्यावारिधि उपाधि हासिल गरेकी हुन् । श्रीस्वस्थानीमा उल्लेख भएको लावण्यदेश साँखु वा नगदेशमध्ये कुनै एक रहेको पनि जिकिर गरेकी छन् । यद्यपि यसअघि पनि अमेरिकीनागरिक लिण्डा ईलटिसले स्वस्थानी ब्रतको विद्यावारिधि शोध गरेकी थिईन ।

यद्यपि यी दुईबीचको शोधमा श्रीस्वस्थानी ब्रत र श्रीस्वस्थानी ब्रतकथा शीर्षकमा फरक छ । नेपाली नागरिकले भने अहिलेसम्म श्रीस्वस्थानी ब्रतकथाका विषयमा विद्यावारिधि शोध भएको छैन । यद्यपि श्रीस्वस्थानीकथा बारे कलम चलाउनेमा काशीनाथ तमोट, ऐश्वर्यधर शर्मा, चन्द्रबहादुर कायस्थ अग्रपंक्तिमा छन् ।

सन् २०१८ मा अक्सफोर्ड युनिभर्सिटी प्रेसले जेसिकाले श्रीस्वस्थानी ब्रतकथामा आधारित भएर लेखेको पुस्तक ‘रिसाइटिङ्ग (द गडेसः न्यारेटिभ्स अफ प्लेस एन्ड द मेकिङ्ग अफ हिन्दुइज्म इन नेपाल)’ प्रकाशित गरेको थियो । हरेक वर्ष पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रीस्वस्थानी ब्रतकथाको पुजा आराधना एवम् वाचन गरिने परम्परा छ ।