आज श्री स्वस्थानी व्रतकथा समापन, शालीनदीमा मेला भर्नेको घुइँचो

सूचना दैनिक
आइतवार, माघ २६, २०७६

काठमाडौं । आज माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रतकथा समापन हुने दिन । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । पौष शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म निराहार श्री स्वस्थानीको व्रत बस्ने र पूजाआजा गर्ने गरिन्छ ।

साँखुस्थित शालीनदीमा मेला भर्नेको घुइँचो लागेको छ । एक महिनासम्म शालीनदीमा मेला लाग्ने गरे पनि आज विशेष दिन भएकाले हजारौं मानिस शालीनदी पुगेका छन् ।स्वस्थानी परमेश्वरीको व्रत बस्नाले शान्ति, सुःख, समृद्धि अनि अध्यात्मिक चेतनामा वृद्धी भई सुस्वास्थ्य कायम रहने जनविश्वास छ ।

साँखुस्थित शालिनदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत वस्ने चलन रहि आएको छ । सबै उमेर समूहको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । यसरी सामूहिक रुपमै स्वस्थानी परमेश्वरीको व्रतकथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समूदायलाई फाइदा हुने जनविश्वास छ ।