वैज्ञानिकले भेटे सय वर्षसम्म बाँच्ने दुर्लभ जीव, सात वर्षदेखि हल्लिएको पनि छैन

सूचना दैनिक
सोमवार, माघ २७, २०७६

दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर (स्थानीय नाम बेबी ड्र्यागन) भेटिएको छ । यो पछिल्लो २ हजार ५ सय ६९ दिन (७ वर्ष भन्दा बढी) समयदेखि हल्लिएको पनि छैन ।

वैज्ञानिकले लामो समयसम्म निगारानी गरेपछि उक्त जीव ओल्म्स (प्रोटियस एग्निस) नामको उभयचर स्यालामेन्डर भएको पत्ता लागेको छ । आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने बताइएको छ । यो जीव स्लोवेनियादेखि क्रोएशियाजस्ता देशमा पनि पाइन्छ । ओल्म्सले करिब १२.५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने वैज्ञानिकले बताएका छन् ।

गुफा जीवनको अध्ययन गर्ने जीव वैज्ञानिकका लागि यो राम्रो खबर हो किनभने क्रोएशियामा सात हजार बढी यस्ता दुर्गम गुफा छन् जुन मानिसको पहुँचभन्दा टाढा छ । यहाँ स्यालामेन्डरको शरीरको अंश (डीएनए र इडीएनए) पानीमा घोलिएपछि बाहिर आएको हो ।

 हंगेरियन नेचुरल हिस्ट्री म्युजियमका ज्यूडिट वोरोसले भने, ‘यसअघि यस्ता जनावरको कल्पना मात्रै गरिएको थियो । यहाँ भारी वर्षाका कारण यी जीव गुफाबाट बाहिर आएपछि मात्रै हामीले यसलाई देखेका हौं । अन्यथा यिनीहरुलाई हेर्न हामीले गोताखोरी गरेर गुफाभित्रै जानु पर्दथ्यो । तर अब हामी गुफाको पानीमा भएको अंश हेरेरै यिनीहरु कहाँ छन् भनेर पत्ता लगाउन सक्छौं ।

१० गुफामा स्यालामेन्डर छन्ः

वोरोसका अनुसार उनको समूहले एक प्रविधीको प्रयोग गरेर स्यालामेन्डरको ‘इन्भारोमेन्टल डिएनए’ परीक्षण गरेका हुन् । यो प्रविधी यसअघि वन्य जीवमा प्रयोग गरिएको थियो तर गुफामा पाइने प्रजातिमाथि भने यो पहिलो पटक प्रयोग  भएको हो । यसका लागि सन् २०१४ को गर्मीमा १५ गुफाभित्रको पानीको स्याम्पल जम्मा गरिएको थियो । प्रत्येक गुफाबाट २ लिटर पानी लिएर पेपर फिल्टर गरेर ई डिएनए निकालियो । त्यसपछि १० गुफामा स्यालामेन्डर भएको पत्ता लागेको बताइन्छ ।