सीसीटीभीमा कामदारले नै पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या गरेको भेटियो

सूचना दैनिक
सोमवार, माघ २७, २०७६

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतअनुसार घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो ।

प्रहरी स्रोत भन्छ, ‘सीसीटीभीमा वारदातको समयमा चौधरीले कार्कीमाथि पिर्काले हिर्काएको र घाँटी कसेको देखिएको छ ।’

मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए । 

दाङ घर भएका विजय चौधरीले कार्कीमाथि साङ्घातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

कार्कीले बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो ।

कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।

घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।