कालापानीमा अवतरण हुन सकेन हेलिकप्टर, आकाशबाटै अवलाेकन गरेर फर्किए रक्षामन्त्री

दार्चुला, ५ फागनु । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली यहाँस्थित कालापानी तथा तिङ्कर क्षेत्रकाे अवलाेकन गरी फर्किएको छ ।

सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको हेलिकोप्टरबाट कालापानी क्षेत्रकाे अवलाेकनका लागि गएकाे टाेली बिहान ९ बजे फर्केकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौड्यालले जानकारी दिनुभयाे ।

दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ कोउद्घाटन तथा दार्चुलास्थित दुर्गादल गुल्मको निरीक्षणको क्रममा उपप्रधानमन्त्री पोखरेल आइतबार यहाँ आउनुभएको थियो । साेही क्रममा कालापानी क्षेत्रकाे अवलाेकनमा साेमबार बिहान निस्कनुभएकाे हाे ।

व्यास गाउँपालिका अन्तरगत पर्ने तिङ्कर क्षेत्रमा सशस्त्र प्रहरीकाे पाेस्ट राख्न तथा सीमाको अवस्थाबारे अध्ययन/अवलोकन गर्न उहाँकाे टाेली साे क्षेत्रतर्फ प्रस्थान गरेकाे थियाे ।

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण रक्षामन्त्रीसहितकाे टाेली सवार हेलिकाेप्टर अवतरण हुन नसकेपछि आकाशबाटै व्यास गाउँपालिका- १ स्थित छाङरु, तिंकरलगायत क्षेत्रको अवलोकन गरेर फर्किएकाे प्रजिअ पाैड्यालले बताउनुभयाे ।

मन्त्री पोखरेलसहितको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उप-सभामुख निर्मला बडाल जोशी, प्रदेशसभा सदस्य गेल्वुसिंह बोहरा र मानबहादुर धामीलगायत सुरक्षा अधिकारी संलग्न थिए ।

मानव बसाेबासका दृष्टिले कठिन भूगाेल र हावापानी रहेकाे तिङ्कर, कालापानी, लिपुलेक क्षेत्रमा भारतीय अतिक्रमण बढ्दै गएपछि सरकारले यहाँकाे सुरक्षाका लागि सशस्त्र प्रहरी खटाउने बारे अध्ययन थालेकाे बताइएकाे छ । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।

प्रकाशित मिति February 17, 2020

प्रतिकृया दिनुहोस