खरिपाटी क्वारेन्टाईनका सबै स्वस्थ, भेटिएन कोरोना

सूचना दैनिक
मङ्लबार, फाल्गुन ६, २०७६

काठमाडौं । कोभिड नाइन्टिन कोरोना भाइरसको प्रको प फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका १ सय ७५ जना नेपालीमा रोगको संक्रमण देखिएन । भक्तपुरको खरिपाटी क्वारेन्टाईनमा राखिएका सबैको र्याल परिक्षणपछि कसैलाई पनि कोरोना भाईरसको संक्रमण नभएको प्रमाणित भएको हो ।

नेपाली सेनाका चिकित्सक डा. नविन फुयाँलका अनुसार खरिपाटी क्वारेन्टाईनमा रहेका सबै नेपाली स्वस्थ छन । वरपर रोग सर्ने कुनै सम्भावना छैन । अहिलेसम्म कुनै पनि नेपालीलाई रुघाखोकी, ज्वरोजस्ता समस्या नदेखिएकाले आइसोलेसनमा समेत जानु नपरेको डा. फुयालले बताए । स्वास्थ्यको दृष्टिकोणले मात्रै क्वारेन्टाईनमा राख्नु परेको डा. फुयालको भनाई छ ।

अहिले उनिहरुको दैनिकी खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले पनि विस्तारै कुरा बुझ्न थालेका छन् । क्वारेन्टाईनमा राखिएका नेपालीहरुको सहजताका लागि इन्टरनेट, टेलिभिजन, विभिन्न खेलकुदका सामग्रीहरूको व्यवस्था गरिएको छ । त्यहाँ बस्ने सबै नेपालीले आफूले सोचेभन्दा पनि धेरै राम्रो व्यवस्थापन गरेकोमा सरकारको प्रशंसासमेत गरेका छन ।