बीपीले भने- २०० बर्ष इतिहास भएको राजसंस्था केहि समयमैं फाल्छु भन्नेले मलाई कति दिन राख्लान ?

सूचना दैनिक
बुधबार, फाल्गुन ७, २०७६

२०३६ /२०३७ साल तिर नै बीपीलाई नेपालको पहिले राष्ट्रपति बनाईदिने प्रस्ताव बीपीले किन अस्विकार गरे……..

अमेरिकाबाट स्वास्थ्यलाभ गरी बीपी स्वदेश फर्किने समय पारेर पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाइयो । २०१७ सालपछि कांग्रेसीहरूको त्यो नै पहिलो ठूलो जमघट थियो । पहिलो संसद्का सभामुख कृष्णप्रसाद भट्टराईलाई बीपीले कार्यबाहक सभापतिको जिम्मेवारी दिए । कांग्रेस नेता केबी गुरुङ भन्छन्, ‘नेपाल फर्किने बेला पटनामा बीपीको व्यापक सम्मान भयो । सोसलिस्टहरूले बीपी नेपाल नजाऊ हामी तिमीलाई प्रधानमन्त्री बनाएर पठाइदिन्छौं भनेका थिए । बीपीले भन्नुभयो— तिमीहरूले बनाएर पठाइदिएको प्रधानमन्त्री तिमीहरूको हुन्छ, नेपालको हुँदैन ।’ २०३४ कात्तिक २३ गते नेपाल फर्किएका बीपीलाई गिरफ्तार गरी सीधै विशेष अदालतमा हाजिर गराइयो ।

राजा र बीपी मिल्ने डरले कट्टरपन्थी पञ्चहरूको सातो गएको थियो । उनीहरू जुनसुकै मूल्यमा मेलमिलाप भाँड्न चाहन्थे । केही समयको अन्तरालपछि उपचारको सिलसिलामा बीपी पुन: अमेरिका गए । यता २०३५ माघ २६ गते क्याप्टेन थापालाई कमला नदी किनारमा र श्रेष्ठलाई कोसीमा गोली हानी मारियो । राजाबाट गम्भीर धोका भयो भनेर प्रजातन्त्रवादीहरू सशंकित थिए ।

अमेरिकाबाट फर्किने बेला बीपीको बिदाइमा पटना विमानस्थलमै पुगेका चन्द्रशेखर र कपूरी ठाकुरसहितका नेताले भनेका थिए, ‘बीपी तिमी यहीं बस । नेपाल नजाऊ । हामी बहुदल घोषणा गराइदिन्छौं । बीपीले भने— तिमीहरूले घोषणा गरेको बहुदल तिमीहरूको हुन्छ हाम्रो हुँदैन ।’

आशंका र संशयका बीच पुन: राजा र बीपीको भेट भयो । राजासँगको त्यो वार्तालापबारे बीपीले कांग्रेस नेता केबी गुरुङले सुनाएका थिए, ‘बीपी यु नो, युआर टकिङ विथ द किङ अफ द कन्ट्री ।’ जवाफमा बीपीले भनेछन्, ‘अफकोर्स, योर मेजेस्टी इज अल्सो टकिङ विथ पिपुल्स रिप्रजेन्टेटिभ ।’

बीपी र राजा जुधाएर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा विदेशी र स्वार्थी पञ्चहरू लागेकै थिए । यस्तै अन्योलका चलिरहँदा राजतन्त्रको अन्त्य गरी बीपीलाई नेपालको पहिलो राष्ट्रपति हुने वातावरण बनाइदिने प्रस्ताव लिएर कोही व्यक्ति जयबागेश्वरीस्थित उनको निवासमै पुग्यो ।

विश्वासिलो भएका कारण बनारसदेखि नै कांग्रेस नेता बलदेव मजगैयासँग बीपी भन्नै नहुनेबाहेक सबै विषयमा खुलेर कुरा गर्थे ।’
पूर्वमन्त्री मजगैया भन्छन्, ‘यो कुरा कसैलाई सेयर गरेको थिइनँ । बीपीले आफूलाई राष्ट्रपति बनाइदिने प्रस्ताव आएको सुनाएपछि मैले सोधें— सान्दाजु त्यो व्यक्ति नेपाली, भारतीय वा अमेरिकी हो कि अरूनै कोही हो । उहाँले भन्नुभयो— तीमध्ये कोही पनि होइन । मैले दुईपटक त्यो मानिसबारेमा बुझ्न खोजें, तर उहाँले बताउनुभएन । बीपीसँग थप सोध्ने आँट त्यो बेला ममा आएन ।’

प्रस्ताव लिएर आउने मानिसलाई बीपीले भनेछन्, ‘यति ठूलो निर्णय गर्नुअघि साथीहरूसँग छलफल गर्न मलाई कम्तीमा ४८ घण्टा चाहिन्छ ।’
त्यो बेला बीपीले दरबारलाई गुन लाए भन्ने हल्ला व्यापक चलेको थियो । शशांक भन्छन्, ‘सायद राजासँग कुनै प्रकारले बीपीको संवाद भएको हुनुपर्छ ।’

संयोग नै भनौं । बीपीलाई राष्ट्रपति बनाइदिने प्रस्ताव आएको ४८ घण्टाभित्रै जनमतसंग्रह घोषणा भयो । अनि राष्ट्रवादी छविका प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई राजीनामा गराइयो र भारत निकट मानिएका सूर्यबहादुर थापा प्रधानमन्त्री बने ।

जनमतसंग्रह घोषणालगत्तै गणतन्त्रको प्रस्ताव गर्ने उही व्यक्तिले बीपीलाई सोध्यो, ‘के निर्णय गर्नुभयो त बीपी ।’ बीपी उसलाई भने, ‘जनमतसंग्रह घोषणा भयो अब हामी चुनावमै जान्छौं ।’

कांग्रेस नेता मजगैया भन्छन्, ‘त्यही बेला मैले बीपीसँग सोधेको थिएँ । तपाईं जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो । राजाले प्रजातन्त्र समाप्त पारे । संसद् भंग गरे । बिनापुर्जी तपाईंलाई ८ वर्ष थुनियो, ८ वटा राजकाज लगाइयो । यस्तो राजालाई किन राख्नुपर्‍यो सान्दाइ ।’ बीपीसँगको वार्तालाप स्मरण गर्दै मजगैया भन्छन्, ‘राजसंस्थालाई चुट्कीको भरमा फाल्न सक्नेले उसैले बनाएको मानिसलाई फाल्न कति समय लगाउला ? हाम्रो देशको राजनीतिक स्थिरता के होला ?’ त्यो सुनेर मजगैयाले भनेछन्, ‘त्यसो भए सान्दाइ त्यति बेलै राजसंस्था फालेर गणतन्त्रमा हामी जान्नौं किन भन्नुभएन त ? मेरो चेहरातर्फ एकोहोरो हेर्दै बीपीले भन्नुभयो— मैले हुन्न भनेको भए उसले अर्को पात्र खोज्न सक्थ्यो । त्यो त झन् मुलुकको हितमा हुने थिएन ।’

पत्रकार जगत नेपालको डकुमेन्ट्री ‘बीपीको राजद्रोह’ बाट