कोरोना संक्रमित बुवाआमाको हेरचाह गरेका फिल्म निर्देशकको निधन, बुवाआमालाई पनि बचाउन सकेनन्

सूचना दैनिक
बुधबार, फाल्गुन ७, २०७६

काठमाडौं, ६ फागुन । नोवेल कोरोना भाइरस संक्रमणबाट चीनमा विशिष्ट ब्यक्तिहरुको ज्यान जाने क्रम जारी छ । दुई जना चिकित्सकले हालै ज्यान गुमाएका छन् भने वुहानमा एक चिनियाँ फिल्म निर्देशकले पनि ज्यान गुमाएको खबर अन्तराष्ट्रिय मिडियाले सार्वजनिक गरको छन् । आफ्ना बृद्ध आमाबुवाको रेखदेख गरिरहेका ५५ वर्षे चाङ खाइको कोरोना संक्रमणबाट निधन भएको हो। यो संक्रमणबाट उनको परिवारका अन्य तीन जनाको पनि निधन भइसकेको छ । कोरोना संक्रमित बुवाआमाको स्याहार गरेका खाइको ज्यान गएको संचार माध्यमले जनाएका छन् । उनले आफ्ना बुवाआमालाई पनि बचाउन सकेनन् ।

चाङ र उनको बहिनी जसले घरमा आमाबुवाको हेरचाह गरे, दुबै भाइरसबाट संक्रमित थिए। भाइरसबाट संक्रमित भएको केही घण्टापछि उनको बहिनीको पनि निधन भएको थियो। खाइको श्रीमती पनि कोरोना संक्रमित छिन्। उनको उपचार जारी छ ।

निर्देशक चाङले निधनअघि लेखेको पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पत्रमा उनले लेखेका छन् मेरो बुवालाई ज्वरो, खोकी र सास फेर्न समस्या भएको थियो। हामीले उहाँलाई अस्पताल लाने प्रयास गरेका थियौ तर कुनै पनि अस्पतालले उहाँको भर्ना लिएन। किनकी कुनै अस्पतालमा पनि बिरामी राख्ने बेड खाली थिएन।

अस्पतालले भर्ना नलिएपछि घरमै राखेर हेरचाह गर्ने क्रममा दुवै जनाको ज्यान गयो । पछिल्लो समय वुहानमा कोरोना संक्रमितको संख्या बढेपछि त्यहाँ ६ दिनमै नयाँ अस्पताल निर्माण गरिएको थियो। चाङ सन् १९८९ मा फोटोग्राफी अध्ययन गर्न वुहान विश्व विद्यालय पत्रकारिता संकायमा भर्ना भएका थिए। त्यसपछि उनी हुबेई फिल्म स्टुडियोबमा पनि सामेल थिए।