कालंगा नदी र बाइसधाराको संगमस्थल बाइसधारा त्रिवेणीधाम : सुन्दर र पवित्र धार्मिक पर्यटनको आकर्षक गन्तव्य !

सूचना दैनिक
शनिबार, फाल्गुन १०, २०७६

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीबाट १३५ किलोमिटर उत्तरमा डडेल्धुरा सदरमुकाम पुगिन्छ । त्यसपछि २६ किलोमिटर उत्तर बैतडी जिल्लाको खोड्पेबाट शुरू हुने जयपृथ्वी राजमार्गमा पर्ने बागथलाबाट करीब १४ किलोमिटर उत्तर पश्चिम बुङ्गल नगरपालिका–५ मा सानीगाड, कालंगा नदी र बाइसधाराको संगमस्थल बाइसधारा त्रिवेणीधाम रहेको छ ।पृथ्वी चौध लोकमध्ये सुन्दर र पवित्र लोक हो । यसलाई शास्त्रमा सर्वाेत्तम भनेर वर्णन गरिएको छ । पृथ्वीमा पनि भारत वर्ष र भरत खण्डको छुट्टै र अलौकिक महत्त्व छ । जहाँ भगवान् श्रीहरिका अनेक अवतार भएका कथाहरू पुराणमा उल्लेख भएका छन् । यसैखण्ड अन्तर्गत नेपाल एक हिन्दू बाहुल्यता भएको राष्ट्र हो ।

शालिग्राम भगवान्को उत्पत्तिस्थल, भगवान् शिवको वासस्थान, माता सीताको जन्मभूमि, पूर्वीय सभ्यताको उत्पत्तिकेन्द्र शान्तिका अग्रदूत अहिंसाका पुजारी भगवान् बुद्धको अवतरित भूमि तथा भगवान् वेद व्यासको जन्मस्थल एवं पाठशालका रुपमा शास्त्रादि ग्रन्थमा वर्णित नेपालको महिमा देवलोक र बैकुण्ठलोकको झै पूजनीय र बन्दनीय छ । त्यसैले त हाम्रा पुराण तथा प्रागैतिहासिक ग्रन्थको परिवेश तथा वातावरणका रुपमा नेपालको अलौकिक वर्णन गरिएको छ ।नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्ला धार्मिक तथा पौराणिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ । स्कन्दपुराण अन्तर्गतको मानसखण्डको १३८ देखि १४८ सम्मका अध्यायमा गरिएका वर्णन अनुसार बझाङ जिल्ला पनि विभिन्न ऋषिमुनिको तपस्थलीका रुपमा वर्णित छ । विशेषगरी बझाङ जिल्लाको बुङ्गल नगरपालिका बाइसधारा त्रिवेणीधाम क्षेत्रका नामले प्रख्यात भूमि तपोमूर्ति, श्रोत्रिय, ब्रह्मनिष्ठ शाण्डिल्य ऋषिको तपस्थली हो । शाण्डिल्य ऋषि ब्रह्माका पुत्र हुन् । जसको वर्णन महाभारत सभा पर्व अध्याय ४, शल्य पर्व अध्याय ५४, अनुशासन पर्व अध्याय ६५ १३७, १७३ र शान्तिपर्व अध्याय ४७ मा रहेको छ । शाण्डिल्य एक साधारण तपश्वी मुनि मात्र नभएर गोत्र परम्परामा पनि देखिएका विशेष महर्षि हुन् ।

उनका नामले गोत्र परम्पराको विकास हुनुका साथै छान्दोग्य र बृहदारण्यक नामक उपनिषद्मा पनि शाण्डिल्य ऋषिको प्रसङ्ग आएको छ । आत्मा परमात्माको निरुपण गर्ने पाञ्चरात्रादि परम्परामा शाण्डिल्य महान् प्रामाणिक पुरुष मानिन्छन् । यिनका नामले प्रसिद्ध शाण्डिल्योपनिषद् हाल प्राप्त २२० उपनिषद्मध्ये १८० को क्रममा देखिएको छ ।पौराणिक महत्त्व, प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र ऐतिहासिक धार्मिक, पुण्यभूमि बझाङ जिल्लाको बुङ्गल नगरपालिका अन्तर्गत पर्ने बाइसधारा त्रिवेणीको महत्त्व स्कन्धपुराण मानसखण्डमा व्यापक रुपमा गाइएको छ ।

स्कन्दपुराण मानसखण्डका अनुसार यही हालको बाइसधारा क्षेत्रमा सत्ययुगमा माणवक नामक ब्र्राह्मणले नन्दादेवीको तपस्या र आराधना गरेर नन्दासरबाट कलावती (हाल कालंगा) नामक नदी उत्पत्ति गराई प्रवाहित गरेका थिए, जुन नदीको पवित्र जलले गर्दा माणवक ब्राह्मणले आफ्ना १०१ कुलका साथै आफ्ना गुरु शाण्डिल्य ऋषिका पितृहरूको पनि मुक्ति गर्नुभएको थियो भन्ने कुरा यसरी उल्लेख भएको छ :शाण्डिल्यस्याश्रमं पुण्यं प्रापयामास सत्पथाम् । तत्रागत्य स्वगुरवे शाण्डिल्याय महात्मने ।। नदीं प्रदर्शयामास दिव्यां नन्दासरोद्भवाम् । स तस्या वारिभिर्दिव्यैः पितृन् सन्तप्र्य यत्नतः ।। (स्कन्द.मा.ख १३८.१६ १७)