सांसद सरिता गिरीको काठमाडौंको विशालनगरस्थित घरमा कालो झण्डा

 

काठमाडौं, २८ जेठ । युवाहरुको एक समूहले समाजवादी पार्टीकी सांसद सरिता गिरीको काठमाडौंको विशालनगरस्थित घरमा कालो झण्डा राखेको छ । बुधबार साँझ झण्डा लिएर नाराबाजी गर्दै युवाहरूको उक्त समूहले सांसद गिरी राष्ट्रघाती रहेको बताएका बताएका छन् ।

उनीहरुले ‘राष्ट्रवादी जनता जिन्दावाद, सरिता गिरी मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए । सांसद गिरीको घरमा युवाहरुले राखेका कालोझण्डालाई प्रहरी पुगेर हटाएको जनाएको छ ।

सांसद गिरीको घरमा कालो झण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सांसद गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको निर्णयप्रति असहमत हुँदै सदनमा सो निर्णयविरुद्ध एकल रुपमा प्रस्ताव दर्ता गरेकी छन् ।

त्यस लगत्तै सांसद गिरीकै पार्टी समाजवादी पार्टीले पनि उनलाई उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति June 10, 2020

प्रतिकृया दिनुहोस