राष्ट्रिय एकताको सन्देश सहित ऐतिहासिक र गाैरबपुर्ण आजको दिन ।।

सूचना दैनिक
शनिबार, जेष्ठ ३१, २०७७

काठमाडौं, जेठ ३१ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन हुँदा सर्वसहमतिले पारित भएको हो । सोअघि विधेयकमाथि दफाबार छलफल भएको थियो ।

प्रतिनिधिसभामा कुल सदस्य संख्या २७५ मध्ये शनिबार २५८ जनाको उपस्थिति थियो । उपस्थित सबै सदस्यले पक्षमा मतदान गर्नुभयो । विधेयकको विपक्षमा शुन्य मत परेको सभामुख अग्नीप्रसाद सापकोटाले बताउनुभयो । मत विभाजन गर्दा उपस्थित सबै सदस्यले पक्षमा मतदान गरेकोभन्दै सभामुख सापकोटाले विधेयक दुई तिहाईभन्दा बढीले पारित भएको घोषणा गर्नुभयो ।

बैठकमा १७ जना सांसद अनुपस्थित रहनुभयो ।
संशोधन प्रस्ताव पारित भएसँगै नेपाली भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग नेपाली नक्सामा समेटिएको छ । संसदबाट विधेयक पारित भएपछि नयाँ नक्साले संवैधानिक मान्यता प्राप्त गरेको छ ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम १३७ को उपनियम (९) मा संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाई सदस्यको बहमुतबाट स्वीकृत भएमा विधयेक पारित भएको मानिनेछ व्यवस्था छ ।

त्यस्तै, उपनियम (१०) मा संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ व्यवस्था छ ।