लिपुलेकबारे राजा महेन्द्र र कीर्तिनिधिलाई जोडेर पूर्वराजदूत श्याम शरणले गरे यस्तो खुलासा , निधन अघि कीर्तिनिधिले बोलेको त्यो शब्द…

सूचना दैनिक
आइतवार, जेष्ठ ३२, २०७७

 

काठमाडौं । नेपाल–भारतबीच पश्चिम सीमाका विषयमा विवाद कायमै छ । यसबेला नेपाल र भारतका सीमाविद् तथा पूर्वराजदूतहरुले आ–आफ्नै दलील पेश गरिरहेका छन् । विभिन्न सञ्चार माध्यममार्फत उनीहरुले दुई देशबीचको सीमा विवादको समाधान हुन नसक्नु र सीमा विवाद देखिनुको कारण प्रस्तुत गरिरहेका छन् । यसैक्रममा भारतका पूर्वविदेश सचिव तथा नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

भारतले गत नोभेम्बर २ मा आफ्नो नक्सा अद्यावधिक गर्दाको नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक गरेपछि सीमा विवाद उत्कर्षमा पुग्न थालेको हो । सीमा विवाद सुल्झाउन वार्तामा बस्न आनाकानी गरोके गत मे ८ मा उक्त भूमिमा बाटो बनाएर उद्घाटन गरेपछि सीमा विवाद बढेको हो । नेपालले पनि आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गर्दै मे २० मा जारी गरेको छ । यसपछि दुवै देशका राजनीतिज्ञ, कूटनीतिज्ञ, सीमाविद्, सञ्चार माध्यमहरुले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।

यसै क्रममा शुक्रबार इण्डियनएक्सप्रेसमा आफ्नो लेख प्रकाशित गराएर पूर्वराजदूत श्याम शरणले नेपालले पहिला लिम्पियाधुरा, कालापानी र लिपुलेक दाबी नगरेको बताएका छन् । सन् २०१५ मा भारत–चीनबीच व्यापार तथा वाणिज्य सम्झौता भएपछि मात्रै नेपालले उक्त भूमिमाथि दाबी गरेको श्यामशरणको भनाइ छ ।

भारत–चीनबीचको यु’द्धपछि सन् १९६२मा भारतले कालापानी लिपुलेकमा भारतीय फौज राखेको थियो । राजा महेन्द्र शाहले आफ्नो भूमिमा रहेका भारतीय फौज हटाउँदा लिपुलेककाबारे केही नभएको भन्दै श्याम शरणले उक्त भूमिमाथि भारतको दाबीलाई स्वभाविक रुपमा व्याख्या गरेका छन् । तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले १८ वटा भारतीय क्याम्पमध्ये १७ वटा हटाउन भारतीय समकक्षी इन्दिरा गान्धीलाई पत्राचार गरेको श्याम शरणको दाबी छ ।

सो पत्रमा लिपुलेक तथा कालापानीमा रहेका भारतीय क्याम्प हटाउने विषयमा केही उल्लेख नहुनुले पनि भारतको दावीलाई उनले स्वभाविक मानेका हुन् । अहिले काली नदीको मुहानको विषयमा दुई मुलुकबीच विवाद देखिएको भन्दै उनले राजा महेन्द्र र वीरेन्द्र राष्ट्रवादी रहेकाले भारतको हितमा काम गर्नेकुरा कल्पनासमेत गर्न नसकिने उल्लेख गरेका छन् ।

भारतविरुद्ध रहेका राजा महेन्द्र र वीरेन्द्रले लिपुलेकमा भारतीय क्याम्प रहन दिएको भन्ने नेपालीको तर्क हास्यास्पद रहेको पूर्वराजदूत श्याम शरणको भनाइ छ ।आफू राजदूत भएर नेपाल जाँदा कीर्तिनिधि विष्टले नेपाली भूमिबाट भारतीय क्याम्प हटाउन सकेकोमा गर्व गरे पनि लिपुलेकमा रहेको भारतीय क्याम्पबारे केही नभनेको श्याम शरणले आफ्नो लेखमा उल्लेख गरेका छन् । तर, निधन हुनु केही अघि भने लिपुलेक नेपालकै रहेको कीर्तिनिधि विष्टले बताएको श्याम शरणले भनेका छन् ।