ओलीको ठाउँमा अरु भए नक्सा पास हुने थिएन सम्मान गर्न पर्छ – गगन थापा

सूचना दैनिक
आइतवार, जेष्ठ ३२, २०७७

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको परिवर्तित नक्सासहितको नेपालको निशान छाप समावेश गर्न सरकारले संसदमा दर्ता गरेकाे संसोधन प्रस्ताव सर्वसम्मत छिटै पारित गर्नुपर्ने बताएका छन् । थापाले शनिबार एक विज्ञप्तिमार्फत राष्ट्रिय प्रतिवद्धताको विषय भएकोले द्रुतगतिमा सर्वसम्मत रुपमा प्रस्तावलाई पारित गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, `नेपालको परिवर्तित नक्सा संविधानको अंग भएसंगै राष्ट्रिय स्वाभिमानको लडाईंमा एउटा महत्वपूर्ण अध्यायको सुरुवात हुनेछ । यस उप्रान्तको काम कुटनीतिक रुपमा अझै जिम्मेवारीपूर्वक गर्नुपर्नेछ । यतिखेर भारतले नेपाली भू-भागमा उपस्थितिसंगै नियन्त्रण राखेको अवस्था छ । अबको बाटो भनेको हामीले हाम्रो भू-भागबाट भारतको उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण स्थापित गर्ने हो । ´ उनले थप गरेका छन्, `यसका लागि सीमासंग सम्बन्धित विषयमा नेपाली कांग्रेसका सांसद र नेकपाका सांसदले दर्ता गराउनु भएका दूई भिन्न-भिन्न संकल्प प्रस्ताव संसदमा दर्ता छन् । बदलिएको परिवेशमा यी दुई संकल्प प्रस्तावलाई पूनर्लेखन गरी परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको हाम्रो भू-भाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्प सहितको ‘साझा संकल्प प्रस्ताव’ मस्यौदा गरौं र सर्वसम्मत रुपमा संसदबाट संकल्प पारित गरौं ।

राष्ट्रिय स्वाभिमान, स्वाधिनता र स्वनिर्णयको विषयमा मतभेद हुननहुने भन्दै उनले संघीय गणतान्त्रिक नेपालको राजनीतिक ईतिहासमा पहिलो पटक सबै सशक्त रुपमा, आपसी मतभेदहरुलाई पाखा लगाएर राष्ट्रिय स्वाभिमानको खातिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा एक ढिक्का भएर उभिएकाे स्मरण गरेका छन् । नेपाली स्वाभिमानको विषयमा बनेको यस राष्ट्रिय एकताले नेपाली भू-भागमा नेपाली सार्वभौम शक्ति स्थापित नभएसम्म थप वलियो ढङ्गले निरन्तरता पाउन जरूरी रेहकाे पनि थापाकाे भनाई छ । नेपालले लिने कुटनीतिक बाटो तथा पहलहरुमा हामी-हामी विच कार्यगत स्पष्टता ल्याउन आपसी रुपमा विविध प्रयास तथा अभ्यास हुन आवश्यक रहेकाे र यसले अहिले बनेको राष्ट्रिय एकतालाई अझ सुदृढ तथा दिगो गर्न मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

`अत: नेपालको स्वनिर्णय र त्यस्त निर्णय कार्यन्वयन गर्ने सार्वभौम शक्तिउपर कोही-कसैलाई स्पष्टिकरण दिईरहनु आवश्यक छैन । यद्यपी हाम्रो स्वाधिनता र सार्वभौमिकताको रक्षार्थ नेपालले गरेको स्वनिर्णयमाथि तुच्छ तथा असोभनीय किसिमले प्रश्न उठाउने, भ्रम सिर्जना गर्ने र नेपालले केही गर्न सक्दैन भन्नेहरुलाई संसदको राष्ट्रिय संकल्पले एउटा चोटिलो जवाफ दिनेछ नेपाल आफ्नो सीमाना र सार्वभौमकताको रक्षा गर्न दृढरुपमा संकल्पित छ उनले भनेका छन्।