कोरोना जितेकी प्रसिद्धी भन्छिन्-‘कोरोनाबारे प्रधानमन्त्रीको झुट अत्ति भयो’

सूचना दैनिक
शुक्रबार, असार ५, २०७७

काठमाण्डौ – बिहीबार राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबारे लामै समय भाषण दिनुभयो । उहाँले कोरोनालाई रुघाखोकीसँग तुलना गर्नुभयो ।

‘कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाँच्छिउ साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन’ प्रधानमन्त्रीले भन्नुभएको थियो । प्रधानमन्त्रीले बेसारको बारेमा पनि लामै समय खर्चनुभयो । उहाँको भनाइको चौतर्फी आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीको भनाइप्रति नेपालमा कोरोना सङ्क्रमण देखिएकी दोस्रो बिरामी प्रसिद्धी श्रेष्ठले पनि आपत्ति जनाउनुभएको छ । उहाँ अहिले निको भइसक्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले जे पायो त्यही भनेर कोरोनाका बिरामीको उपेक्षा गरेको पनि आरोप लगाउनुभएको छ ।

प्रसिद्धीले ट्विटरमार्फत भन्नुभएको छ , ‘मैले कोरोना भोगिसकेको छु, यो कुनै सामान्य फ्लू होइन, श्वास फेर्न गाह्रो हुन्छ, थकाइ लाग्छ, कृपया आफ्नो मनोरञ्जनको लागि कोरोना बिरामीको दुःखमा नखेल्नुहोस, यो बकवास अत्ति भयो ।’